सांसद बस्नेतद्वारा एकै दिनमा चार वटा कार्यको शुभारम्भ

भक्तपुर : पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एकै दिनमा चार वटा कार्यको शुभारम्भ गर्नुभएको छ । सांसद बस्नेतले बुधवार नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष स्व.प्रा.डा. दीपक प्रसाद भट्टराईको ४५अौ दिनको पुण्य तिथिमा उहाँको दीपक मार्ग नामाकरण, दीपक स्मृति भवन अनावरण, शालिक निर्माण शिलान्यास तथा उहाँद्वारा लेखिएको ‘सकिन्छ गर्न यहीँ मुलुकमा गर्नुपर्छ’ भन्ने पुस्तक को लोकार्पण समारोह गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै सांसद बस्नेतले मानिसले जिन्दगीमा बाँच्ने र साँच्ने काम गर्नुपर्नेमा जोड दिँदै उहाँले मानिसले जीवनमा गरेका काम र समाजमा छोडेर गएका काम महत्वपूर्ण हुने बताउनुभयो । स्व. प्रा. दीपक प्रसाद भट्टराईले जीवनमा समाज रुपान्तरणको लागि आवश्यक जनशक्ति निर्माण तथा परिवर्तनको मार्ग देखाई विदाई स्वार्गारोहण हुनुभएको समेत उहाँले उल्लेख गर्नुभयो ।

राज्यको अभिन्न अंगको रुपमा इन्जिनियरिङ कलेज रहेको बताउँदै उहाँले जनताको साथ र सहयोग नै इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिकाको नेतृत्वमा आएको स्पष्ट पार्नुभयो । संसदिय समिति, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, राजनीतिक दललगायतका विभिन्न क्षेत्रले चासो दिएकै कारण कलेज जनाताको हितमा आएको उल्लेख गर्दै उहाँले कलेजको सवालमा अझै कही कतै बुझाईमा अझै पनि समस्या भए वार्ता र छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रामा स्थानीय तहलाई दह्रो बनाउनुपर्नेमा जोड दिँदै उहाँले दरवीलो लोकतन्त्र बनाउने उदाहरणको रुपमा कलेजको जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गरिएको समेत बताउनुभयो । प्राज्ञीक रुपमा पोखरा विश्वविद्यालयको नै जिम्मेवारी रहने उक्त कलेजमा व्यवस्थापकीय जिम्मेवारी नगरपालिकाको हुने जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले व्यवस्थापकीय जिम्मेवारी पाएको नगरपालिकाले राजनीतिक रुपमा कलेजलाई कुनै पनि हस्तक्षेत्र गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो ।

वर्तमान समयमा नेकपा र कांग्रेस नै मुलुकको मुख्य राजनीतिक दल भएको बताउँदै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो । उक्त कलेजलाई प्राविधिक विश्वविद्यालयको रुपमा विकास गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, ‘पहिलेको समयमा छोरी विवाह गरी दिएपछि मारे पाप, पाले पुण्य भनि जिम्मा लगाने चलन थियो तर अहिले त्यो गर्न पाइँदैन । छोराछोरी जन्मीएपछि सरकारको जिम्मा हुन्छ । छोरा छोरीलाई अनौतिक गतिविधि गरे कानुन अनुसार कारवाही हुन्छ । त्यस्तै इन्जिनियरिङ कलेज जस्ता संस्था जन्माउन पाइन्छ तर मार्न पाइदैन ।’

आफु नेतृत्वमा भए पनि नभए पनि जनताको भावनालाई मर्न नदिने गरी दिगो र स्थायीत्वमा निरन्तर लागिरहने प्रतिवद्धता उहाँले जनाउनुभयो । विगतमा कलेजको व्यवस्थापन समितले गल्तीलाई सच्याएको खण्डमा कलेजको विकास र समृद्धिमा हातेमालो गरि अघि बढ्न सकिने उल्लेख गर्दै उहाँले कलेजमा भएको भ्रष्टाचार तथा अनियमितता छानविन गर्ने समिति बनेको र सोही समितिले दिएको सुझावको आधारमा आगामी दिनहरु अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार ०९:३८