४३ लाखले चलाउँछन् फोरजी

काठमाडौं : तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको भदौसम्मको तथ्याङ्कअनुसार देशभर ४३ लाख ५५ हजारले फोरजी प्रयोग गर्छन् । थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट र भिडियोसमेत हेर्न उपयोगी हुने भएपछि पछिल्लो समय फोरजीका ग्राहक थपिदै गएका छन् ।

सङ्ख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमका भने आठ लाख ३४ हजार प्रयोगकर्ता छन् ।

त्यस्तै सबैभन्दा पछि फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमका भने दुई लाख २७ हजार फोरजी प्रयोगकर्ता छन् । अहिले तीनवटै सेवा प्रदायकले १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थताको आधारमा उपलब्ध फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेका छन् ।

एनसेलले देशका मुख्य सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्यअनुसार चार दर्जनभन्दा बढी सहरमा यो सुविधा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित गत माघ २० गतेदेखि काम अगाडि बढाएको थियो ।

टेलिकमका अनुसार पछिल्लो समय ५० भन्दा बढी जिल्लामा फोरजी नेटवर्क विस्तार भइसकेको छ । टेलिकमले असोज १५ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै देशका पाँच दर्जन ठाउँमा एकैपटक फोरजी सेवा विस्तार गरेको जनाएको थियो ।

प्राधिकरणको पछिल्लो तथ्याङ्क भदौसम्मको मात्र भएकोले असोजको तथ्याङ्क यसमा समेटिएको छैन । टेलिकमले करिब २० अर्ब रुपियाँ लगानी गरेर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको फोरजी नेटवर्क विस्तार परियोजनाबाट ६५ लाख ग्राहक थप हुने जनाएको छ । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार ०९:२३