गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८।१३ सेकेण्डको समय निकालिन् । भारतकी शिवांगी शर्माले रजत जितिन् ।

योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् । यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

यस्तै गौरिकाले साग खेलकुदको इतिहासमा नेपालका लागि सर्वाधिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छिन् । उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् । दिपकले चार संस्करणमा ४ स्वर्ण जितेका छन् । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाए ।

गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् । गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । यस्तै पौडीको महिला ४ सय मिटर मिड्लेको रिलेमा नेपालले कास्य जितेको छ ।


प्रकाशित | २३ मंसिर २०७६, सोमबार १८:५२