हामीले मातृभूमिप्रतिको दायित्व ठानेर लगानी गरिरहेका छौं: शेष घले

शेष घले  

गैरआवासीय नेपाली संघ (एनआरएनए) भनेको विदेशमा कर्मथलो बनाएका प्रतिनिधिहरू मिलेर बनाएको संस्था हो । यो ठूलो संस्था हो, यो संस्थाप्रति नेपालभित्र र बाहिर पनि ठूलो अपेक्षा छ । संस्थाको वर्तमान र आगामी दिनमा गर्नुपर्ने काम धेरै छ । विगतमा र आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि काम हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

संस्थाको आगामी दिन र संस्थाले कसरी कार्य सञ्चालन गर्ने भन्ने विषयमा अघिल्लो नेतृत्वले भिजन २०२० वियोन्ड दस्तावेज पारित गरी मार्गचित्र स्पष्ट पारिसकेको थियो । अब हाम्रो चुनौती भनेको हामीले तयार गरेका लक्ष्य प्राप्ति गर्ने, विगतमा गरेका वाचा पूरा गर्ने नै हो । यो समुदायमा दोस्रो पुस्ताको संख्या ठूलो छ जो आफूलाई नेपाली हो भनेर चिनाउन चाहान्छ । सबैको एउटै चिन्ता भनेको नेपालसँग अबको सम्बन्ध र नाता कसरी कायम गर्ने भन्ने नै हो । यसका लागि संस्था र नेपाल सरकारले सोच्नु पर्ने समय आएको छ । उनीहरूलाई राजनीतिविहीन अधिकारसहितको नागरिकता माग गरिरहेका छौं । यो चाँडै कार्यान्वयन होस् । स्रोत साधनको प्रयोग गरेर हामीले मातृभूमिप्रतिको दायित्व ठानेर लगानी गरिरहेका छौं ।

संस्थामा चाँडै नेतृत्व परिवर्तनले गाह्रो भइराखेको छ । हरेक दुई वर्षमा नयाँ–नयाँ अनुहारले संस्थाको नेतृत्व लिएको अवस्था छ । संस्थामा विस्तारै राजनीति हावी हुँदै गएको हामीले पाएका छौं । राजनीति त संस्थामा हुन्छ तर, यो धेरै अप्ठ्यारो खालको राजनीति हो । राजनीतिबाट संस्थालाई बाहिर ल्याउन सक्नुपर्छ । संस्थामा राजनीति हावी हुँदै गए पनि संस्थाको साख खस्किँदै जान्छ नै यसको भविश्यमा समेत प्रश्न चिन्ह लाग्न सक्छ । यही अवस्थामा संस्थाको उद्देश्य प्राप्ति गर्नका लागि समस्या उत्पन्न हुनसक्छ यसो भए हामी हाम्रो उद्देश्यअनुसार अघि बढ्नै सक्दैनौ । सबै एनआरएन मिली संस्थाको भावी दिशा तय गरेर संस्था, नेपाली र नेपालको हक हितमा लाग्नु पर्ने समय आएको छ ।

 एनआरएनएको नवौ विश्व सम्मेलनमा शेष घलेले राख्नुभएको विचार समय सान्दर्भीक लागेर प्रकाशन गरेका हौ ।


प्रकाशित | ३० कार्तिक २०७६, शनिबार १२:१४