पीएसएलको ड्राफ्टमा सन्दीप

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ( पीएसएल) टी-ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपाली युवा लेग स्पिनर सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् ।

यस अघि नेपाल क्रिकेट संघ क्यानले आईसीसी मार्फत पीएसएलको ड्राफ्टमा राख्न नेपालका पाँच खेलाडीको नाम सिफारिस गरेको थियो । क्यानले विनोद भण्डारी, करण केसी, पवन सरार्फ, ललित राजवंशी र आरिफ शेखको नाम सिफारिस गरेको थियो ।

सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी अटाएका छन् ।  पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ ।

ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । जसमा ३ जना प्लाटिनम श्रेणीको खेलाडी किन्न पाउने छन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।

गत सिजन सन्दीपले लाहोर क्वालन्डर्सबाट खेलेका थिए । सन्दीप अहिले टी-१० लिगका लागि युएईमा रहेका छन् । सन्दीप गत महिना इंग्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ लिगका लागि अनुबन्धित भएका थिए ।


प्रकाशित | २८ कार्तिक २०७६, बिहीबार ११:४३