उच्च मनोबल र आत्मविश्वासका साथ अगाडि बढ्नुस, नेपालले मिस वर्ल्ड जितेर ल्याउँछ

काठमाडौं: मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा जानु अगाडि मिस नेपाल अनुष्का श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट गर्नुभएको छ । आज बिहान भएको भेटभाटमा प्रधानमन्त्री ओलीले मिस नेपाल अनुष्कालाई नेपालीले आत्मबल र आत्मविश्वासका साथ अगाडि बढेको खण्डमा संसारका कुनै पनि ठाउँमा गएर प्रतिस्पर्धा गर्न सक्ने भन्दै पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

निकै ब्यस्त कार्यक्रमकाबीच पनि एक घन्टा समय दिनुभएको प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्दै गर्दा आफूलाई कती पनि कमजोर नठान्न आग्रह गर्नुभयो ।

‘नेपालीहरु संसारका अन्य देशभन्दा कुनै पनि हिसावले कमजोर छैनौ, तर उच्च मनोबल र आत्मविश्वासका साथ अगाडि बढेमा भने नेपालीहरु सधै सफलताको शिखरमा पुगीनेछ ‘, प्रधानमन्त्री ओलीले अनुष्कालाई होसल्ला दिर्दै भन्नुभयो ।

भेटपछि कुराकानी गर्नुहुँदै अनुष्काले प्रधानमन्त्रीसँगको भेट अत्यन्तै उपलब्धीमूलक रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीलाई भेट्दा नेपाली हुनुमा गौरव महसुस भयो ।

प्रधानमन्त्रीमा युवा वर्गसँग ठूलो आसा र विश्वास राख्नुभएको रहेछ, भेटमा आत्मविश्वासलाई कहिल्यै नहार्न र सकारात्मक सोचको विकास गर्न सल्लाह दिनुभयो ।’

‘अन्य महत्वपूर्ण समय कटाएर एक घन्टा समय दिर्दै प्रधानमन्त्रीले राष्टिय गौरव र सकारात्मक सोचको विकासमा टेवा पुग्ने खालको सन्देश प्रवाह गर्नुभयो’, अनुष्काले भन्नुभयो ।

प्रधानमन्त्री सँग भेटेर मिस वल्र्डमा प्रतिनिधित्व गर्दै गर्दा आत्मविश्वास थप बढेको अनुष्काले बताउनुभयो । अनुष्का केहि समयमा नै मिस वल्र्डमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा जाने तयारीमा हुुनुहुन्छ ।


प्रकाशित | २३ कार्तिक २०७६, शनिबार १५:४६