प्रधानमन्त्रीको सम्बोधन : २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताउनुभयो ।

गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै ओलीले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गत वर्ष नीतिगत र कानूनी जग बसाल्ने काम गरेको भन्दै ओालीले अब त्यही जगमा टेकेर तिव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले २०७५ सालमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको प्रतिफल आउन लागेको बताउँदै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरेको बताउनुभयो । मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्त्वपूर्ण काम भएको ओलीको भनाइ छ । उहाँले छुट्टै मधेश राष्ट्रको वकालत गर्दै आएका सिके राउतलाई राजनीतिको मूल धारमा ल्याएको भन्दै अब भइरहेको हिंसालाई पनि छिट्टै अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०८:०३