सूर्यविनायकको काँक्रावारीमा हजारौं स्थानीयवासी लाभान्वित हुने गरि शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

भक्तपुर: सूर्यविनायकको काँक्रावारीमा हजारौं स्थानीयवासी लाभान्वित हुने गरि शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं.९ नंखेल स्थित काँक्रावारीमा निर्वाचित जनप्रतिनिधि आए पश्चात एक पछि अर्को गर्दै विकासले तिव्रता पाएको हो । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । सोही अनुसार सूर्यविनायक नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, पुल, ढल, खानेपानीलगायतका भौतिक पूर्वाधारको उल्लेख्य मात्रामा सुधार भएको पाइन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कार्यहरु मानिसको मौलिक अधिकार भित्र रहेका छन् । यसै क्रममा आज काँक्रावारीमा हजारौं स्थानीयवासी लाभान्वित हुने शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको नगरपालिका मेयर बासुदेव थापाले बताउनुभयो । यससँगै उक्त स्थानका जनताले संविधानमा उल्लेख भएको स्वास्थ्यको अधिकारलाई व्यवहारिक रुपमा प्रयोग गर्न पाएका छन् ।

नगरपालिका तथा प्रदेश सरकारको रु वीस लाखको लागतमा निर्माण गरिएको एक तल्ले उक्त भनवको उद्घाटन कै क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडकलगायतको साथ साथै पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको भएकोले उक्त स्थानमा पर्यटकीय विकासको लागि आवश्यक पहल गरिदिन जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न मनोरम दृष्यका हिमस्रिङ्खालाहरु समेत अवलोकन गर्न सकिन्छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिका नेपालकै उदाहरणीय र नमुनायोग्य कार्य गरेको बताउँदै उक्त भवनलाई आगामी वर्षहरुमा तल्ला थप गर्दै अझ बढी व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आज देखी नै उक्त स्वास्थ्य केन्द्रमा ४० वटा भन्दा बढी औषधीहरु निशुल्क रुपमा वितरण गरिने भएकाले स्थानीयवासीले भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । प्रमुख थापाले नगरपालिकाको योजना नै विकट ठाउँलाई आफ्नै कार्यकालमा सुगम बनाउने लक्ष्य रहेको बताउँदै जनताको साथ र सहयोग आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा काँक्रावारी उपत्यकाको कर्णालीको रुपमा नभई सुगम र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभयो ।

पछिल्लो समय विकासले काँक्रावारीलाई खोज्न थालेको बताउँदै सडक, विद्यालय, शहरी स्वास्थ्य केन्द्रको विकासमात्र नभई उक्त स्थानमा मास्टर प्लानका आधारमा विकासको कार्य अघि बढाएको जानकारी गराउनुभयो । उहाँले विकासको लाभ जनताले अधिकतम रुपमा लिनुपर्नेमा समेत जोड दिनुभयो ।

विकासको लागि आवश्यक बजेटको अभाव हुँदैन बताउँदै उहाँले उक्त स्थान पर्यटन र कृषिको प्रचुर मात्रामा सम्भावना बोकेको बताउनुभयो । आधुनिक कृषी प्रणालीको विकास गर्नु अहिलेको आवश्यक रहेको बताउँदै उहाँले उक्त स्थानलाई इको भिलेजको रुपमा अघि बढाउने कार्य अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘साँगादेखी काँक्रवारी आशापुरी, नैचाल, घ्याम्पेडाँडा, रानीकोट हुँदै अनन्तलिङ्गेश्वरसम्मको क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने कुरा सरकारले प्रकृया अघि बढाएको छ । वर्तमान समयमा अन्य ठाउँले काँक्रावारीलाई सहयोग गर्ने गरेको तर आगामी दुई तीन वर्षभित्रमा काँक्रावारीले अरुलाई आर्थिक तथा सामाजिक रुपमा सयोग गर्न सक्ने हुन्छ ।’


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १७:३८