कतारमा जुन ४ मा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’

दोहा : नेपालीहरुको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश कतारमा चर्चित कलाकारको साथमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुने भएको छ । कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने कार्यक्रम चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोगको पवित्र उद्देश्यसहित आयोजना हुन लागेको हो ।

कार्यक्रमको आयोजकमा नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा ग्राण्ड फिनाले गर्न सफल भैसकेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी प्रबिन गुरुङ रहनु भएको छ ।

यस्तै, कार्यक्रमको कोअर्डिनेटरमा एनआरएनए आइसिसी सदस्य मनोज गोर्खाली रहनु भएको छ भने व्यवसायी सागर नेपाल सल्लाहाकार तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सल्लाहाकार तथा मिडिया कोअर्डिनेटरका रुपमा रहनु भएको छ ।

कार्यक्रम यही जुन ४ मा कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा हुनेछ । ईस्लाम धर्मावलम्बीहरुको महान चाड (रमादान इद–अल फितरको) अवसरमा आयोजना हुने कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त हस्ती कलाकारहरुको सहभागिता हुनेछ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरुमा नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडको आफ्नो धमाकेदार प्रस्तुति हुनेछ ।

यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, आधुनिक तथा पछिल्लो समयका ब्यस्त गायिका अमृता लिम्बु, गायिका छिम्मि मेम्बा, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे, गायिका तथा उदघोषिका सन्ध्या बूढा उर्फ काउली बुढी, बिशेष गरि टेलिभिजन क्षेत्रका चिरपरिचित उद्घोषक बिबेक खतिवडालगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रविन गुरुङले बताउनुभयो ।

कतारमा छुट्टीमा भव्य कार्यक्रम आयोजना हुने बताउँदै गुरुङले कतारमा कार्यरत सम्पूर्ण नेपालीहरु उपस्थित भई कार्यक्रम सफल बताउन अनुरोध गर्नुभयो। एनआरएनएको समेत सहयोग रहने कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन तथा सहयोग रहेको छ । जनसवाल राष्ट्रिय दैनिक कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १४:०२