पर्यटक बढाउन अनलाईन भिसा प्रणाली लागु गर्नुपर्छ: खुमबहादुर सुवेदी, अध्यक्ष -टान

२६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा लागिरहेका खुमबहादुर सुवेदीले ०४९ सालमा ट्रेकिङ गाइड हुँदै ट्रेकिङ व्यवसायमा प्रवेश गरेका थिए । युनिक एड्भेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडोज र ट्रिपल ए ट्रान्सपोर्टका सञ्चालक सुवेदी साहित्य क्षेत्रमा नियात्राकारका रूपमा समेत परिचत छन् । उनले ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ नामक दुईवटा कृतिसमेत प्रकाशन गरेका छन् भने अन्तर्राष्ट्रिय म्यागेजिनमा स्तम्भ लेखनमा समेत सक्रिय छन् ।

सुवेदी ट्रेकिङ कम्पनीहरूको छाता संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को गत शुक्रबार भएको ४१ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका छन् ।  सुवेदीसँग  कारोबारका लागि दीपेन्द्र थापाले आगामी कार्यकाल, टानको भावी योजना, सरकारले लिएको भ्रमण वर्षमा टानको भूमिकामा केन्द्रित रहेर गरेको कुराकानीको सार :

टानको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । टानलाई अगाडि बढाउने भावी योजना के छन् ?

टानमा म सन् २००७ देखि कार्य समिति सदस्य, २००८–११ सम्म कोषाध्यक्ष, १७ देखि १९ सम्म वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको छु । टानको ४१ औं साधारणसभा तथा निर्वाचनले मलाई अध्यक्षमा निर्वाचित गरेको छ । टानले गर्ने काम तथा टानले समयअनुसार सुधार गर्दै अगाडि बढ्नुपर्ने विषयमा म जानकार छु । विगतमा सिकेको ज्ञान, अनुभव प्रयोग गरेर टानको आगामी दिनलाई सबल, सक्षम बनाउनेतर्फ मेरो कार्यकाल केन्द्रित रहनेछ । विगतको अभ्यासमा म टानमा रहँदा कुनै पनि विमानले उडान भर्दा सहयोग गर्ने सहचारी कर्मचारी भएर काम गरिरहेको थिएँ भने अबको दिनमा भने म विमान आफैं उडान भर्ने पाइलटका रूपमा आएको छु र सफल रूपमा उडान भर्ने सक्नेछु भन्ने मेरो विश्वास छ ।

मेरो कार्यकालमा म विदेशबाट आएको पर्यटकले नेपालको पदयात्रामा जाँदा अनिवार्य रूपमा नेपाली सहयोगी गाइड लिएर जाने व्यवस्था कार्यान्वयनमा लानेछु । ट्र्याक्स भ्याटमा देखिएको नेपाली कन्टेक्सअनुसार नीति–नियमको व्यवस्थापन गर्नेछु, जुन नेपालको माउन्टेनअनुसारको समय सुहाउँदो छैन । नेपालमा एडभेन्चर ट्राभल मार्ट गर्ने, जुन मार्टबाट विश्वमा नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, विगतमा अग्रजहरूले गरेको टानका कामहरू मूल्यांकन गरी टानका भावी कार्यक्रम अगाडि बढाउनेछु । ट्रेकिङ व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धालाई वैज्ञानिक ढंगले अगाडि बढाई अनलाइन प्रणालीको विकासमा जोड दिने । सम्पूर्ण ट्रेकिङ व्यवसायलाई आईटीको प्रयोगमा जोड दिनेछु । अनलाइन सिस्टमबाटै ट्रेकिङको प्रडक्ट खरिद गर्ने गरी प्याकेज बनाउँदा ट्रेकिङ व्यवसायलाई व्यवस्थित र मर्यादित बनाएर व्यवसायीहरूमा ज्ञान, सीपको विकास गर्नेतर्फ मेरो कार्यकाल केन्द्रित रहनेछ । यसका साथै सरकारले लिएको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन टानले गर्नुपर्ने दायित्व पूरा गर्दै सरकारको लक्ष्य प्राप्तिमा सहयोगी बनेर काम गर्नेछौं । यसका लागि टानले गर्ने प्रचारप्रसारमा टान कटिबद्ध भएर काम गर्दै अगाडि बढ्नेछ । टिम्स, टान र नेपाल पर्यटन बोर्डबीचको समस्या समाधानका लागि मध्यमार्गी बाटो अपनाएर समस्याको समाधान गर्नेछौं ।

टिम्सको विवाद समाधान भएको छैन । कसरी समाधान गर्नुहुन्छ ?

सरोकारवाला निकायसँग निरन्तर छलफल गरेर समस्याको समाधान गर्नेछौं । टानले भुक्तानी गर्नुछ भने हामी तायार छौं । हामीले पाउनुपर्नेछ भने हामीले पाउनुप-यो । नेपाल पर्यटन बोर्डले समस्या समाधानको बाटो पहिल्याउनुपर्छ । यसतर्फ हामी ध्यानाकर्षण गराउनेछौं । सरोकारवाला निकायसँग छलफल गरे हामी अगाडि बढ्छौं ।

टिम्सको विवाद समाधान भएको छैन । कसरी समाधान गर्नुहुन्छ ?

सरोकारवाला निकायसँग निरन्तर छलफल गरेर समस्याको समाधान गर्नेछौं । टानले भुक्तानी गर्नुछ भने हामी तायार छौं । हामीले पाउनुपर्नेछ भने हामीले पाउनुप-यो । नेपाल पर्यटन बोर्डले समस्या समाधानको बाटो पहिल्याउनुपर्छ । यसतर्फ हामी ध्यानाकर्षण गराउनेछौं । सरोकारवाला निकायसँग छलफल गरे हामी अगाडि बढ्छौं ।

एड्भेन्टर टुरिजम मार्टको योजना अगाडि सार्नुभएको छ, यो कसरी गर्ने योजना बनाउनुभएको छ ?

विश्वमा एड्भेन्चर गतिविधि गर्ने त्यहाँका संघ–संस्था, पर्यटनसँग सम्बन्धित निकायहरूसँग सहकार्य गरेर नेपाल साहसिक पर्यटक मेला गर्ने हामीले योजना बनाएका छौं । यसका लागि नेपालमा रहेका विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय, सहकार्य गरेर नेपालको साहसिक पर्यटक गन्तव्यहरूको प्रचारप्रसार गर्नेछौं । एड्भेन्चर मार्टमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई साहसिक पर्यटक गन्तव्यहरूमा सहभागी गराउनेछौं र उनीहरूका अनुभवलाई प्रचार–प्रसार गर्ने योजना बनाएका छौं । यसका लागि बन्जीजम्प, प्याराग्लाइडिङ, स्काई राइडर, क्यानोइङलगायत एड्भेन्चर गतिविधिलाई वर्गीकृत गरेर विश्वमा प्रचारप्रसार गर्नेछौं । नेपाल कहाँ पर्छ भन्नेसम्म पर्यटकका भ्रमलाई चिर्नुका लागि पनि मार्ट सफल हुने हामीले विश्वास लिएका छौं । नेपालको प्रचार गर्दै विश्वमा नेपाललाई चिनाउनु म र मेरो कार्यसमिति टिमको उद्देश्य हुनेछ ।

मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । अब टान संघीयतामा कसरी अगाडि बढ्छ ?

हामी अहिले संघ केन्द्रित नै छौं । पोखरामा हाम्रो पोखरा च्याप्टरका रूपमा कार्यालय सञ्चालनमा छ । पोखरामा धेरै ट्रेकिङ कम्पनीसमेत छन् । पोखराबाहेकका क्षेत्रमा अन्य धेरै ट्रेकिङ कम्पनी छैनन् । यो अवस्थामा संघीयतामा हामी भने कार्य समितिमा कार्य क्षेत्र विभाजन गरेर संघीयताको मोडलमा अगाडि बढ्दै तीनै तहको सरकारसँग सहकार्य गरेर अगाडि बढ्नेछौं ।

ट्रेकिङ व्यवसायमा ट्रेकिङ कम्पनीहरूको व्यावसायिक बन्न नसकेको आरोप छ । यसले गर्दा व्यावसायिक ट्रेकिङ कम्पनीहरूलाई समस्या परेको भनिन्छ, यसको समाधानका लागि यहाँको कार्यकालमा के सुधार ल्याउनुहुन्छ ?

केही यस्ता रिपोटहरू आएका छन्, विस्तारै यो समस्या समाधान हुँदै जानेछ । ट्रेकिङ व्यवसाय गर्ने हाम्रा साथीहरू पनि व्यावसायिक बन्दै जानुहुनेछ । यो समयको पनि माग हो । टानले पनि विषयलाई गम्भीर्यताका साथ लिएको छ । यस्तो काम भने विशेषगरी स्पेसल प्याकेज बिक्री–वितरण गर्न काममा समस्या देखिएको हो । कार्यालय नखोली मध्यस्थकर्ताको भूमिकामा लामो समयसम्म व्यवसाय सञ्चालन गर्ने सक्दैन । यस्ता कम्पनीहरू विस्तारै बन्द हुँदै जानेछन् । यसका लागि हामी कम्पनीअनुसार व्यापार–व्यवसाय सञ्चालनका लागि आग्रह गर्छौं । यो समस्या समयक्रमअनुसार समाधान हुँदै जानेछ ।

निषेधित क्षेत्रमा ट्रेकिङ गर्नका लागि सहज वातावरण छैन । टानले यस विषयमा आगामी दिनमा कस्तो सोच बनाएको छ ?

निषेधित क्षेत्रमा अनुमति लिनुपर्ने जस्ता केही सरकारी कानुनी जटिलता छ । हाम्रो सुरक्षात्मक हिसाबले पनि यस्तो कानुनी जटिलताहरू छन् । सरकारले सुरक्षालाई आत्मसात गर्दै निषेधित क्षेत्रको ट्रेकिङ ट्रललाई सहजीकरण गर्नुपर्छ, जसले गर्दा सुरक्षालाई पनि सबल बनाउन सकियोस् र पर्यटकलाई पनि पदमार्गमा जान सहजीकण होस् भन्ने हाम्रो माग हो । सरकारसँग हामीले दुईजना गाइड जानुपर्ने व्यवस्थालाई एकजना लिएर पनि जान दिनुपर्छ भन्ने माग राख्दै आएका छौं ।

फेक रेक्स्क्युमा टानको पनि संलग्नता रह्यो भनिन्छ, यसमा टानले अब खेल्ने रणनीति कस्तो हुन्छ ?

फेक रेस्क्यु हुनु हुँदैन, यसले गर्दा नेपालको पर्यटन उद्योगको विश्वसनीयता गुम्छ । हामी सजग छौं, यसमा मिडियाले पनि सत्यतथ्य समाचार प्रकाशन, प्रसारण गर्नुप-यो, भयो रे भयो भनेर सुनेका आधारमा नेपालको पर्यटन क्षेत्रको वदनाम गर्नु हुँदैन । हामी हाम्रो व्यवसायलाई प्रतिस्पर्धी, स्वच्छ, व्यावसायिक बनाउनका लागि कटिबद्ध छौं । यसमा सबै सरकोकारवाला निकायको महत्वपूर्ण हात छ । सरकारले यसका लागि उचित मापदण्ड बनाएर कार्यविधि लागू गर्ने, नियमन गर्ने काम भने गर्नुपर्छ, जसले गर्दा पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुग्छ । यो गलत खालको प्रचारलाई निस्तेज पार्ने र यस्ता गतिविधि हुन नदिनका लागि टानले आगामी दिनमा थप प्रभावकारी अभिमुखीकरण गर्नेछ ।

ट्रेकिङ ट्रेलहरू कम हुँदै गएका छन् । ट्रेकिङ ट्रेलहरू मासेर सडक मार्ग बनेका छन्, जसले गर्दा ट्रेकिङ मार्गको दूरी घटेर पर्यटकको नेपाल बसाइ अवधि पनि घटेको पछिल्ला तथ्यांकहरूले देखाएका छन्, यसमा टानले आगामी दिनमा गर्ने भूमिका के हुन्छ ?

सरकारले ट्रेकिङ ट्रेल मासेर सडक मार्ग बनाउनु हुँदैन भनेर हामीले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छौं । यसको मतलव सडक नै बन्नु हुँदैन भन्ने हाम्रो भनाइ होइन, सडक बन्नुपर्छ तर ट्रेकिङ मार्गलाई मासेर हैन कि व्यवस्थित गरेर सडक विकास गर्नुपर्छ । टानले पर्यटकमैत्री ट्रेकिङमैत्री सडक बनाऊ भन्दै आएको अवस्था हो । यसका लागि सरकारले पर्यटकीय क्षेत्रमा सडक विस्तार गर्दा पर्यटन व्यवसायी संघ–संस्थाहरूसँग समन्वय गर्नुपर्छ । विकासको नाममा जहाँ पनि डाँडा खन्ने काम भने बन्द गर्नुपर्छ । योजनाबद्ध तवरबाट सडकको विस्तार गर्नुपर्छ । हामीले नयाँ ट्रेकिङ मार्ग पहिल्याउने भएकालाई मर्मत गर्दै सुधार गरी अगाडि बढ्ने काम भने हामी निरन्तर जारी नै राख्नेछौं । यसतर्फ टान सधैं लागेको थियो नै, आगामी दिनमा पनि थप प्रभावकारी ढंगले लाग्ने नै छ ।

केही समिति ट्रेकिङ मार्गमा मात्र सीमित छ ? मार्ग विस्तार हुन सकेको छैन ? इको टुरिजमलाई कसरी अगाडि बढाउनुहुन्छ ?

हामी नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै ट्रेकिङ मार्ग विस्तार गर्दै जानुपर्छ भन्ने मान्यता राख्छौं । कुनै गन्तव्यको विकास भए नै त्यहाँसम्म जानका लागि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले पर्यटकीय गन्तव्यको विकास गर्नु जरुरी छ । ट्रेकिङ मार्गहरूलाई पनि विशेषताका आधारमा वर्गीकरण गर्न सकिएको खण्डमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसतर्फ हामी सचेत छैनौं, सरोकारवाला निकायले पनि ध्यान दिनुपर्छ । इको टुरिजमको अवधारणामा बहस भएको धेरै समय भइसकेको छ । टानले यस विषयमा सम्बन्धित निकायसँग सहकार्य गर्न र दायित्वमा सजग रहेको छ । यसको महत्व नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण छ । यसको समस्या समाधानका लागि पनि सरकारले जिम्मेवार भएर अगाडि बढ्नुपर्छ भन्ने हामीले माग गर्दै आएका छौं ।

टानको आगामी दिनका अवसर र चुनौतीहरू के–के छन् ?

नेपाल पर्यटको पर्याप्त सम्भावना भएको मुलुक हो, यहाँ पर्याप्त सम्भावना छन् । यसका लागि व्यवस्थित पर्यटक उद्योगको विकास गर्नु आवश्यक छ । नेपालमा भएको प्राकृतिक सम्पदाहरूको उपयोग गर्दै नेपालको पर्यटन क्षेत्रलाई विकास गरी आर्थिक विकास गर्न सकिन्छ । यो व्यवसाय भनेको थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिने व्यवसाय हो । सरकारले पनि नेपालको पर्यटन विकासका लागि पर्यटन विकासमैत्री वातावरण बनाउनुपर्छ । हामीसँग धेरै चुनौती छन् । पर्यटन क्षेत्रको सुधार गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिँदै हवाई सञ्जाल विकास गर्नुपर्छ । सिधा हवाई सञ्जाल मार्गबाट मात्र पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि नेपाली ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमलाई पर्याप्त विमानमैत्री बनाउनुपर्छ, साथै नेपालमा आगमन गर्न पर्यटकका लागि हवाई भाडा महँगो छ, यसमा पुनर्विचार गर्नुपर्छ र हवाई इन्धन महँगो भयो भनिरहेको अवस्था सरकारले यसलाई समेत पुनर्विचार गर्नु आवश्यक ठानेको छु । साथै पर्यटन ऐन–कानुनहरू समयसापेक्ष संशोधन गर्दै जानुपर्छ, यो नै हाम्रो चुनौती हो । टान आन्तरिक समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ ।

सरकारले लिएको नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिका लागि टानको योगदान कस्तो रहन्छ ?

सरकारसँग हातेमालो गर्दै सरकारले लिएको लक्ष्य प्राप्तिका लागि टान सहयोग गर्न तयार छ । नेपालमा हवाई टिकट महँगो भएकाले नेपाल आउने पर्यटकका लागि महँगो गन्तव्यका रूपमा विकास भएको छ । पूर्वाधार विस्तार गरेर सडक सञ्जाल राम्रो बनाउनुपर्छ । हवाई यात्रा सहज र सस्तो बनाउनुपर्छ । प्रदूषण कम गर्दै विमानस्थलको सुधार गर्नु आवश्यक ठानेका छौं, साथै हस्पिटालिटीमा पनि सुधार गर्नुपर्छ । अनलाइन भिसा सिस्टम लागू गर्नुपर्छ, जसरी हुन्छ नेपाल भ्रमण गर्न आउने पर्यटकका लागि सहज वातावरण तयार गर्नुपर्छ ।
सरकारले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै पर्यटक क्षेत्रको विकास गरेर नेपालको प्रचार–प्रसारमा जोड दिएको खण्डमा सरकारको लक्ष्य प्राप्त गर्न सहज हुनेछ ।

टान सबै किसिमको सहकार्य गर्न र सहयोग आफूले गर्नुपर्ने दायित्व पूरा गर्न तयार छ । सरकारले १ सय गन्तव्यहरूको पहिचान गरेको छ । यसको प्रचारप्रसार गर्न सरकार र निजी क्षेत्र सहकार्य गदै अगाडि बढेर जानेछौं ।

अन्त्यमा, नेपालको पर्यटन विकास किासका लागि टान सधैं आफूले गर्ने जिम्मेवारीमा क्रियाशील रहने नै छ । नेपालको आर्थिक विकास पर्यटनबाटै सम्भव छ । यो उद्योगलाई विकास गर्नका लागि सरकारमात्र नभएर हामी व्यवसायीहरूको पनि ठूलो भूमिका छ । हामी नेपालको पर्यटन विकासमा सँगसँगै जाऊँ र नेपालको पर्यटन विकास गर्न सरोकारवाला निकायलाई अनुरोध गर्न चाहन्छु । साथै सरकारले लिएको भ्रमण वर्षको लक्ष्य प्राप्तिका लागि सहयोग गर्न आग्रह गर्छु ।


प्रकाशित | २९ भाद्र २०७६, आईतवार १८:१६