‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कसले रोकेको छ ? राजीनामा दिए भै हाल्छ’

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले राखेको माग संविधान विपरित भएको बताउनुभएको छ । डाक्टरहरुले आन्दोलन गर्दै सेवा नदिएर बिरामीहरुलाई निजी क्लिनीकहरुमा जानतर्फ आकर्षित गराउनु संविधान विपरीत भएको बताउनुभयो । सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई राजीनामा दिएर बाटो सुल्झाउन आग्रह गर्नुभयो ।

‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कस्ले रोकेको छ ? राजिनामा दिए भै हाल्छ’, उहाँले भन्नुभयो, ‘दुर्गममा पद राखेर, साइनबर्ड झुण्डाएर काठमाण्डौँमा बसेर निजी क्लिनिक खोलेर काम गरेझैँ गर्न दिन्न । यदि दुर्गममा जानुहुन्न भने दुर्गममा डाक्टरको पद खाली भयो भने आवश्यक परे नयाँ डाक्टर भर्ना गरेरै भएपनि त्यो क्षेत्रमा हामी कर्मचारी पठाउँछौँ ।’

‘जुन बेला समायोजनको काम सुरु भो, त्यो भन्दा अगाडि नै स्वास्थ्यमन्त्रीज्यू, स्वास्थ्य सचिवज्यू र डाक्टर साबहरुको ५ जना नेतृत्वसँग बसेर उहाँहरुको जिज्ञासा र गुनासोलाई सम्बोधन गरिदिने गरिकन काम भएको हो’ मन्त्री पण्डितले भन्नुभयो, ‘त्यसकारण बिशिष्ट, आफूले स्वघोषित विशिष्ट र संविधानभन्दा माथि जाने जुन काम र जहाँ आन्दोलन गर्नु हुँदैन ।

उहाँले सञ्चारकर्मीसँग बोल्दै भन्नुभयो, ‘जहाँ अत्यावश्यक सेवा दिनुपर्छ त्यहाँ आन्दोलन गरेर आफ्नो पेशागत मर्यादालाई पनि बिर्सनु भएको छ । त्यस्तो गर्नु कानुन र नैतिकता विपरित हो । यदि उहाँहरु यस्तै गरिराख्नुहुन्छ भने सरकार दण्डित गर्न पछि हट्दैन ।’  मन्त्री पण्डितले दुर्गममा पद राखेर, साइनबर्ड झुण्डाएर काठमाण्डौँमा बसेर निजी क्लिनिक खोलेर काम गर्न अब नदिने समेत बताउनुभयो । ‘यदि दुर्गममा जानुहुन्न भने दुर्गममा डाक्टरको पद खाली भयो भने आवश्यक परे नयाँ डाक्टर भर्ना गरेरै भएपनि त्यो क्षेत्रमा हामी कर्मचारी पठाउँछौँ’, उहाँले भन्नुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २०:१४