नेपाल एयरलाइन्सले ११ वर्षपछि जापान उडान गर्दै : साताको तीन उडान भर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको हो । निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो । ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताउनुभयो ।

काठमाडौं–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ ९जापानको समयअनुसार० बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो । निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ ।

ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ । नारिताका लागि पनि साताकोे तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना निगमको छ । काठमाडौं–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौं उडान समयावधि साढे सात घण्टाको हुनेछ । निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ०९:४६