श्रीकृष्ण सुलु
चीन र भारतमा बर्षेनी लगभग १५ लाख इन्जिनियर उत्पादन हुन्छ । करीब करीब नेपाल जतिकै क्षेत्रफल र जनसंख्या भएको दक्षिण कोरियामा बर्षेनी १ लाख ५० हजार नयाँ इन्जिनियर उत्पादन हुन्छ । रोजगारीका हिसाबले चीन र कोरियामा प्राय: सबैले रोजगारी पाउन्छ न् भने भारतमा लगभग ४० प्रतिशतले रोजगारी पाउन्छन्। नेपालमा बर्षेनी लगभग ५ हजार नयाँ इन्जिनियर उत्पादन हुन पनि मुश्किल छ । र, उत्पादितमा पनि ५० प्रतिशत इन्जिनियर बिदेशिने डरलाग्दो तथ्यांक छ ।
करीब करीब सँगसँगै स्वतन्त्र भएका देश चीन, भारत, कोरियाको अवस्था नेपाल भन्दा धेरै राम्रो हुनुको मुख्य कारण इन्जिनियरिङ विकास नै हो । प्राविधिक जनशक्तिको उत्पादन र खपतले कुनै पनि देशको विकासको अवस्था र भविष्यवारे मार्ग चित्र प्रस्ट पार्छ । उत्पादन र खपतको हिसाबले नेपालमा इन्जिनियरको संख्या अहिले पनि अत्यन्तै न्युन हुनुले देश विकास गर्न प्राविधिक जनशक्ती अझै अपुग भएको स्पष्ट हुन्छ ।
इन्जिनियरिङ क्षेत्रको द्रुत विकासले केही देशले केही दशकमै अपत्यारिलो विकास गरे भने नेपालमा पनि इन्जिनियरिङ शिक्षा, उत्पादन र खपतमा जोड दिई अवस्थामा कायापलत ल्याउन सकिन्छ । त्यस निम्ती सबभन्दा पहिला गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिने कलेज या संस्थानहरु हुनु आवश्यक हुन्छ । पाठ्यक्रम, पढाइ, परीक्षा प्रणाली र पास भएका नेपाली इन्जिनियरहरुको अब्बल प्रस्तुती आदी आधारमा नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिए पनि प्रविधि र प्राविधिक क्षेत्रमा लगानी अझै बढाउनु पर्ने र जोड दिनु पर्ने देखिन्छ । दक्ष इन्जिनियर उत्पादन गर्ने इन्जिनियरिङ संस्थान र कलेजहरु पनि नेपालमा धेरै छन्। तर नेपालीहरुको ओरिन्टेसन मिलेको छैन। प्रविधि र प्राविधिक क्षेत्रमा लगानी नगर्ने र परनिर्भर हुने वानीले पनि समस्या देखिएको हो । र, कमिशनको खेल, बिभिन्न प्रलोभन तथा विदेशी विश्वविद्यालयले छर्ने भ्रमका कारण नेपाली विद्यार्थीहरु बिदेश जाने प्रवृत्ति बढदो छ । यसले नेपालको इन्जिनियरिङ शिक्षामा पनि नराम्रो असर पारेको छ । वैदेशिक अध्ययनको नाममा विदेशिने विद्यार्थी २० प्रतिशतले बढेको तथ्याङ्क छ र बर्षेनी ४० अरब पूँजी बिदेशिरहेको तितो यथार्थ छ । नेपाल जस्तो गरिब देशको यति धेरै रकम बाहिरिनु आर्थिक प्रगतिको हिसाबले अत्यन्तै नकारात्मक छ।
अर्को कुरा इन्जिनियरिङ पास गरिसकेपछि इन्जिनियरिङ ज्ञान, सीप र क्षमताको सदुपयोग नेपालमै गर्नुपर्नेमा विदेश पलायनको समस्या छ । भारतका एक पूर्व रास्ट्रपतिले ‘देश विकास गर्न मलाई केही चाहिन्न मात्र बिदेशिएका भारतिय प्रतिभा भारत फर्के पुग्छ’भने जस्तै प्रतिभा पलायन मात्र रोक्न सके पनि देश विकासमा धेरै टेवा पुग्छ । नेपालमै केही गर्ने र विकास गर्ने भन्दा नि विदेशमा सस्तो मजदुर ( cheap labour) बन्न जान्ने चलनले दीर्घकालिन रुपमा देशलाई नै नोक्सान हुने भएकोले यहाँ इन्जिनियरिङ शिक्षाको पठन पाठन र रोजगारी नेपालमै किन भन्नेवारे प्रस्ट पार्न खोजिएको छ ।
इन्जिनियरिङ शिक्षा र यसका बिधावारे
विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ । हाम्रो दैनिक जीवन व्यवहार दिनानुदिन प्रविधिमय बन्दै गैरहेको छ । हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौ । कोशौ टाढासम्म भिडियो च्याट गर्छौं । कम्प्युटर या ल्यापटप चलाउछौं, ईन्टरनेट मार्फत समाचार या सूचना हेर्छौ, गेम खेल्छौं । फेसबूक (facbook) या ट्विटर (twitter) अकाउन्ट प्रयोग गर्छौं । भाइबर (viber), इमो(imo), व्हाटस आप(whats app), यु ट्युब (youtube) आदि सबैको प्यारो बनेको छ । यो सब सूचना र प्रबिधिको विकासका कारण संभव भएको हो । र, अहिले सूचना प्रविधिमा यती धेरै छलाङ मारेको हुनाले आजको युगलाई सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology) युग पनि भनिन्छ। सूचना प्रविधिको औपचारिक पढाइलाई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ ( Electronics, Communication and information Engineering) र कम्प्युटर इन्जिनियरिङ (Computer Engineering) भनिन्छ । बिशेष गरी हार्डवेयर (Hardware ) सम्बन्धी अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ (Electronics Engineering) र सफ्टवेयर (Software) सम्बन्धीअध्ययनलाई कम्प्युटर इन्जिनियरिङ (Computer Engineering) भनिन्छ ।
बिजुलीको विकासपछि औद्योगिकिकरण र यान्तृकिकरण बढ्यो। बिजुलीको विकासले वस्तु र सेवाको उत्पादन, रुपान्तरण र वितरणमा निकै ठुलो विकास भयो । विजुली सम्बन्धी इन्जिनियरिङलाई इलेक्टृकल इन्जिनियरिङ (Electrical Engineering)भनिन्छ । नेपालमा ८३ हजार मेघावाट विजुली पानीवाट मात्र उत्पादन गर्ने क्षमता रहेवाट र अहिले सम्म ज्यादै थोरै मात्र उत्पादन भएवाट इलेक्टृकल इन्जिनियरिङ (Electrical Engineering) को महत्व झन् झन् बढ्दो छ ।
हामी गगनचुम्बी भवनदेखी समुद्रमा पुलसम्मका समाचारले रोमान्चित हुन्छौं। सिभिल इन्जिनियरिङ (Civil Engineering) र आर्किटेक्चर (Architecture)डिजाइनवाट यस्ता संरचना सम्भव भएका हुन । नेपालमा सिभिल इन्जिनियरिङ (Civil Engineering) र बी आर्क (Architecture)निकै लोकप्रीय छ । नेपालमा प्राय: जसो अभिभावक आफ्नो छोराछोरीलाई सिभिल इन्जिनियरिङ पढाउन चाहन्छन् ।
२०७४ असोजसम्ममा ४०,८७६ (पुरुष ३५,७४४ र महिला ५,१३२) ईन्जिनियरहरु नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएको देखिन्छ, जसमा १६,९०४ जना सिभिल, ६,८२६ जना इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, र ५,१५७ जना कम्प्युटर, ३,०४७ जना मेकानिकल्, २,०५४ जना ईलेक्ट्रीकल्, १,९२६ जना आर्किटेक्ट, १,५८३ जना ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्स्, ५७१ जना आई टी, ४२६ जना एरोनिटिकल्, ३४३ जना इन्डस्ट्रीअल, ३०० जना अग्रीकल्चरल, २९८ जना बायोमेडिकल, २७३ जना ईलेक्ट्रोनिक्स, १९९ जना वातावरण, १७५ जना सफ्टवेर, १६८ जना जियोम्याटिक, १४२ जना सिभिल एन्ड रुरल, ११८ जना ईलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन, ६७ जना केमिकल, ४१ जना माइनिङ, ३३ जना बायो टेक्नोलोजी, ३० जना अटोमोबाईल, ३० जना सिस्टम, २२ जना अग्री इरिगेसन, २० जना जिएओलोजि, १९ जना रेडियो, १८ जना टेक्स्ट्आइल्, १४ जना आइ टी एन्ड टेलिकम्युनिकेसन, ११ जना सर्भे ईन्जिनियर लगायतका थिए। नेपालमा अहिले लगभग ५२ विधाका ५२ हजार इन्जिनियर दर्ता छन्।
नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था
इन्जिनियरिङ शिक्षाको लागी नेपाल आत्मनिर्भर छ ।अहिले नेपालमा ६ वटा विश्वविद्यालय अन्तरगत ५१ वटा कलेजमा बर्षेनी लगभग १०,६३३ इन्जिनियरिङ सीट छ । तर आधी जती मात्र सीट भरिन्छ । ६ वटा विश्वविद्यालयमा गरी नेपालमा सिभिल (civil), मेकानिकल (mechanical), कम्प्युटर (computer), ईलेक्ट्रीकल (electrical), ईलेक्ट्रीकल एन्ड ईलेक्ट्रोनिक्स (electrical and electronics), ईलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन (electronics and communication), ईलेक्ट्रोनिक्स्, कम्युनिकेसन एन्ड इन्फर्मेसन (electronics, communication and information), आर्किटेक्चर (architecture), बायोमेडिकल (biomedical), जिओम्याटिक्स (geomatics), अग्रीकल्चर (agriculture), इन्डस्ट्रीअल (industrial), अटोमोबाइल (automobile), केमिकल (chemical), सफ्टवेर (software), सिभिल एन्ड रुरल (civil and rural), वातावरण (environmental) ईन्जिनियरिङ पढ्न पाइन्छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतको आंगिक र समबन्धन प्राप्त कलेजमा भर्ना हुन र पास हुन सब भन्दा प्रतिस्पर्धी र गाह्रो मानिन्छ । त्यसैले त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ शिक्षा अब्बल मानिन्छ । इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम र पूर्वाधार, शिक्षकहरूको योग्यता, क्षमता र योगदान, ल्यावहरूको व्यवस्था र विद्यार्थीले पढिसकेपछि कार्यक्षेत्रको प्रस्तुती आदि मापदण्डले यसो मानिएको हो । देश बिकासको अवस्था एवं पुन: निर्माण र नव निर्माणको लागी नेपालमा पुरानो देखि आधुनिक इन्जिनियरिङको पठन पाठन अति आवश्यक देखिन्छ ।
न्यून शुल्कमा गुणस्तरीय र शिक्षा पाउन
नेपालमा इन्जिनियरिङ शिक्षा शुल्क न्यून शुल्कमा गुणस्तरीय र शिक्षा हो । अहिले सरकारी कोटा पनि धेरै भएकोले झन् सजिलो भएको छ । बहु विश्वविद्यालयको व्यवस्थाले शुल्कमा प्रतिस्पर्धा छ । त्यस्तै सरकारी स्कूल पढेका र पिछडा वर्गलाई बिशेष व्यवस्था पनि छ । नेपालमा स्नातक तह इन्जिनियरिङ अध्ययन गर्न पूरा ४ वर्षको लागि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नियमिततर्फ रु. ४० हजार, पूर्ण शुल्कियमा रु. २ लाख ७० हजार, निजी कलेजहरुमा रु. ८ देखी १० लाख, काठमाडौं विश्वविद्यालयमा रु. ७ लाख, पोखरा विश्वविद्यालयको आंगिकमा रु. ३ लाख र निजीमा रु. १० लाख, पूर्वान्चल विश्वविद्यालयमा खुलामा रु. १ लाख २५ हजार तथा एफ टी एफ सी मा रु. ५ लाख्, निजीमा रु. १० लाख, मध्यपश्चिम्आन्चल विश्वविद्यालयमा नियमितमा रु. ३९ हजार र फुल फीमा रु. ४ लाख ३९ हजार, सुदूर पश्चिम्आन्चल विश्विद्यालयमा नियमित तर्फ रु. ५५ हजार र फुल पे तर्फ रु. २ लाख ७४ हजार शुल्क लाग्दछ । बिदेशमा जस्तो पछी अनेक नाम र बहानामा शुल्क या खर्च बढ्ने संभावना रहन्न ।
पाठ्यक्रम, प्रयोगात्मक ज्ञान, शिक्षकको व्यवस्था, ज्ञान र लगाव आदी हिसावले नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय मानिन्छ । नेपालवाट इन्जिनियरिङ गरेका विद्यार्थीले बिश्वको जुन सुकै ठाउँमा पनि राम्रो प्रस्तुती प्रदर्शन गरेको इतिहास छ । चाहे एकेडेमिक होस या फिल्ड वर्कमा होस् । अमेरिका, युरोपका प्रसिद्ध विश्वविद्यालयहरुमा नेपाली इन्जिनियरहरुले नै राम्रो नतिजा निकालिरहेको देखिन्छ ।
भारतया अन्य देशमा जस्तै नक्कली र स्थानीय तल्लो स्तरको विश्वविद्यालयमा पढेर समय वर्वाद होला कि भन्ने चिन्ता कमसे कम नेपाली इन्जिनियरिङ कलेजमा पढे पछी हुन्न ।
नयाँ नयाँ कोर्ष र रिभ्यु को व्यवस्था
अहिलेको जमाना फेरिएको छ । अमेरिका, युरोपमा विकसित प्रविधि यहाँ पनि तुरुन्तै आउन्छ । त्यहाँको ज्ञान, अन्वेषणका कुरा नेपालमा पनि तुरुन्तै अभ्यासमा आउन्छ । प्रविधिकै विकासका कारण विकसित देशको ईन्जिनियरिङको नयाँ नयाँ कोर्ष अविकसित देशमा पनि आइहाल्छ । अहिले कति कामको आउट सोर्सिङ हुन्छ भने कती काम विदेशवाट आएकाले गरिरहेको हुन्छ । विश्व एउटै गाउँ जस्तो भएको छ । त्यसैले नेपालमै बसेर नेपालकै कलेजमा विश्वको नयाँ नयाँ कोर्ष पढ्न सकिन्छ । त्यस्तै नेपाली इन्जिनियरिङ कलेजमा कोर्षहरु को रिभ्यु पनि हुन्छ समय समयमा । TU मा प्रत्यक चार चार वर्षको साइकलमा पाठ्यक्रम संशोधन गरिन्छ । त्यसैले नबिनतम ज्ञान र प्रबिधिसँग साक्षात्कार नेपाली इन्जिनियरिङ कलेजमा गर्न सकिन्छ ।
पूर्णकालिन शिक्षक र शिक्षक आदान प्रदानको व्यवस्था
नेपाली इन्जिनियरिङ कलेजको अर्को विशेषता भनेको अत्यन्त समर्पित पूर्णकालिन शिक्षकको व्यवस्था र उपत्यका भित्र र बाहिरका अन्तर कलेज शिक्षक आदान प्रदान हो ।
पूँजी पलायन रोक्न
अध्ययनको नाममा विद्यार्थी विदेशिनाले देशको पूँजी विदेशिन्छ । यसले देशको रोजगारी र अर्थतन्त्रमा नकारात्मक असर पर्छ । अहिले भारत सँग नेपालको व्यापार घाटा निकै डरलाग्दो छ । १०० रुपैयाँ कारोबारमा नेपालले भारतलाई ४ रुपैयाँ को सामान बेच्दै गर्दा भारत सँग ९६ रुपैयाँको सामान किन्ने रहेछौं । यसैले हामी जहिले गरीबको गरीब । ५० डिग्री तापक्रममा काम गर्न ५० लाख युवा बिदेशिए नि गरीब हुनु को कारण पूँजी पलायन हो । त्यसैले नेपालमै अध्ययन गर्ने गराउने बानी बसाल्नु पर्छ ।
सूचना चुहावट र निगरानी ( surveillance) रोक्न
प्रविधि अहिले उत्पादन, रुपान्तरण र वितरण बढाउने काम मात्र सिमित छैन । अहिले त प्रविधिको प्रयोगले सूचना चोर्ने र अरुलाई निगरानीमा राख्नेसम्मको गंभीर चीज भइसक्यो । अहिलेको चीन- अमेरिका व्यापार युद्ध वा हुवाइ वा ५ जि प्रकरण पनि यसैको नयाँ कडी हो । अहिले कृतृम बुद्धिमता (Artificial Intelligence) को प्रयोग गरी स्वचलित करण (Automation), यन्त्र सिकाइ (Machine learning), यन्त्र दृष्टी (Machine vision), प्राकृतिक भाषा प्रणाली (Natural Language Processing), प्याटर्न पहिचान (Pattern recognition), रोबोटिक्स (Robotics) आदिको विकासको कारण अब प्रबिधिको ज्ञान नहुनु आँखा नहुनु जस्तै भैसकेको छ । र अब देशमै यस्ता अत्याधुनिक प्रविधि विकास नगर्ने हो भने देशका गोप्य सूचना चोरी हुन सक्ने र संवेदनशील क्षेत्र समेत थाहा नपाई निगरानीमा हुने सक्ने खतरा छ ।
एजुकेसनल हब र अनुसन्धान केन्द्र बनाउन , स्वदेशमै पढ्ने वानी बसाले नेपाललाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धानको केन्द्र बनाउन टेवा पुग्छ ।
स्थानिय र ग्लोबल क्यारियरको लागि नेपालको इन्जिनियरिङ शिक्षा नेपालको माटो सुहाउँदो पनि छ र विदेशमा काम गर्न सक्ने दक्ष बनाउने खालको पनि छ । त्यसैले नेपालको इन्जिनियरिङ शिक्षा स्थानिय र ग्लोबल क्यारियरको लागि उपयुक्त छ ।
फेक र लोकल स्तरहिन विश्ववि द्यालयको चंगुलमा नफस्ने भारत लगायतका देशम नक्कली विश्ववि द्यालय र कलेजको विगविगी छ । कतीपय केसमा फेक र लोकल स्तरहिन विश्वविद्यालयको चंगुलमा फस्न सक्ने संभावना पनि छ ।
समयको बचत लगायतको फाइदा
स्वदेशमै पढ्नाले समयको बचत हुने र होम सिक लगायत अनावश्यक तनाव र अनेक समस्यावाट मुक्त भइन्छ । देशको समग्र विकासको लागी देशमा प्रविधिको विकास हुन जरुरी छ । प्रविधि विकास गर्न देशमै इन्जिनियरिङ शिक्षा र रोजगारीको व्यवस्था हुनु आवश्यक छ। शिक्षाको नाममा विद्यार्थी विदेशिनु भनेको पूँजी पलायन हुनु हो भने युवा विदेशिनुको अर्थ हाम्रो सबभन्दा उर्जाशील श्रमशक्ति बाहिरिनु हो । इन्जिनियरिङ शिक्षा र रोजगारी नेपालमै व्यवस्थित गर्न सके मात्र देश को द्रुत विकास सम्भव छ ।
(लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुनुहुन्छ)
प्रकाशित | ३० श्रावण २०७६, बिहीबार ०८:५७