फिफा वरीयता नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं : फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल साबिकभन्दा एक स्थान घटुवा भएको छ । अघिल्लो महिना १६५औं स्थानमा रहेको नेपाल जुलाई महिनाको वरीयतामा एक स्थान तल झर्दै १६६औं आइपुगेको हो ।

सार्क राष्ट्रतर्फ भारत सबैभन्दा शीर्ष स्थानमा छ । ऊ समग्रमा १०३औं स्थानमा छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १५२औं स्थानमा छ ।

सार्कबाट नेपाल तेस्रोमा रहँदा चौथो स्थानको बंगलादेश समग्रमा भने १८२औं स्थानमा छ । त्यसैगरी, पाँचौं स्थानको भुटान १८६औं, छैटौं स्थानको श्रीलंका २००औं र सातौं स्थानको पाकिस्तान २०४औं स्थानमा छन् ।

यता, विश्वतर्फ भने बेल्जियम शीर्ष स्थानमा यथावत कायम छ । कोपा अमेरिकाको च्याम्पियन टोली ब्राजिल दोस्रो स्थानमा चढेको छ भने दोस्रो स्थानको फ्रान्स तेस्रोमा झरेको छ ।

त्यस्तै, इंग्ल्यान्ड चौथो, उरुग्वे पाँचौं, पोर्चुगल छैटौं, क्रोएसिया सातौं, कोलम्बिया आठौं, स्पेन नवौं स्थानमा रहँदा अर्जेन्टिना दशौं स्थानमा छ ।

एसियाली देशहरुमा इरान शीर्ष स्थानमा छ । इरान ३ स्थान झरेर २३ औं स्थानमा पुगेको हो । पाँच स्थान खस्किएको जापान ३३ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा यथावत् छ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १९:५०