सामाजिक सञ्जालमार्फत पाँच करोड ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल इमो, भाइबर, फेसबुक, ह्वाट्समार्फत झन्डै पाँच करोड रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य अभियुक्तसहित तीनजना पक्राउ परेका छन् । महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख, महोत्तरीकै गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन र भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद पक्राउ परेका हुन् । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा टेकराज थामीले लेखेका छन् ।

महानगगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ठगी धन्दाको मुख्य योजनाकार भारतीय नागरिक जावेद रहेको बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमार्फत ठगियौँ भनेर उजुरी पर्‍यो । अनुसन्धानमा हामी जुट्यौँ । महिनादिनसम्मको उनीहरूको ट्यान्ज्याक्सन हेर्‍यौँ । प्रत्येक महिना न्यूनतम पनि ८० लाखको कारोबार भएको देखियो । तर, त्यसअनुसार सामान डेलिभरी नभएको पाइयो । उनीहरूले यो धन्दा ६ महिनादेखि सञ्चालन गरेको देखिन्छ । यस आधारमा उनीहरूले न्यूनतम पनि पाँच करोड रुपैयाँभन्दा धेरै ठगेको देखिन्छ ।’

प्रहरीकाअनुसार ठगी धन्दाका लागि उनीहरूले ‘तारा ग्याजेड्स’ नामको पेज बनाएका थिए । पेजमा ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी तथा विभिन्न श्रृंगारिक सामग्रीको फोटो अपलोड गर्थे । पेजलाई केही अवधि बुस्ट गर्थे । सामग्री खरिद गर्न चाहनेका लागि सम्पर्क नम्बर पनि पेजमै छाडिदिन्थे । लोभिएका सर्वसाधारण सोही नम्बरमार्फत उनीहरूसँग सम्पर्क गर्थे । पेजमा मन परेको सामग्रीको मोलमोलाइ गर्थे । मूल्यमा सहमति भएपछि रकम भुक्तानीका लागि विभिन्न बैंकको खातानम्बर दिन्थे । खातामा रकम जम्मा भएपछि उनीहरू एकाएक गायब हुन्थे ।

पाँचजनाको उजुरी

उनीहरूले धेरैलाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । महाशाखाका अनुसार ठगिएकामध्ये अहिले पाँचजनाले प्रहरीमा उजुरी दिइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी थापाले भने, ‘उनीहरूले सामाजिक सञ्जालमार्फत नै सामाग्रीको विज्ञापन गर्थे । विज्ञापनमा लोभिएका ग्राहकले उनीहरूले भनेको ठेगानामा रकम पठाइदिन्थे । तर, सामग्री भने उपलब्ध गराउँदैथे । प्रारम्भिक रूपमा यसरी ठगिएकामध्ये पाँचजनाको उजुरी परेको छ । तर, उनीहरूले धेरैलाई ठगेको देखिन्छ । अनुसन्धान जारी छ । बाँकी तथ्य उजुरीको थप अनुसन्धानपछि खुल्ला ।’


प्रकाशित | १ श्रावण २०७६, बुधबार ०८:२८