एनआरएनए युके अध्यक्षमा सुशिला राईको सात बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी २०१९ -२०२१ कार्यकालको लागि सुशिला राईले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए यूकेको उपाध्यक्ष रहनु भएको राईले एक कार्यक्रम आयोजना गरि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सबै प्रवासी नेपालीका लागि एनआरएन’ भन्ने मुल नाराका साथ उम्मदेवारी घोषणा गर्नुभएको राईले विभिन्न सात बुँदे प्रतिबद्धतासमेत सार्वजनीक गर्नुभएको छ ।

तस्विर: शिव भण्डारी

राईले गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने उल्लेख गर्नुभएको छ । ‘साथै एनआरएन अन्र्तराष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविब गर्ने कार्यलाई सशक्त बनाई नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु’, प्रतिबद्धतापत्रमा भनीएको छ ।

त्यस्तै, गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्ने समेत प्रतिबद्धतामा उल्लेख गरिएको छ । हेर्नुहोस अध्यक्षको उम्मेदवार राईको प्रतिबद्धतापत्र जस्ताको तस्तै;-

. गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने छु । एनआरएन अन्र्तराष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविब गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु ।

. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्नेछु ।

. बेलायतमा हुर्किरहेका हाम्रा छोराछोरीहरुलाई नेपालसितको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासँस्कृति, भाषा, पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने छु ।

४. बेलायतमा अझै पनि धेरै प्रवासी नेपाली महिलाहरु घरायसी कामबाट बाहिर निस्की सामाजिक कार्यमा आउन सकेका छैनन् । जबसम्म आधा जनसंख्याको हिस्सा ओगटेका महिलाहरुको सामाजिक कार्यमा प्रभावकारी सहभागिता हुँदैन तबसम्म यहाँको प्रवासी नेपाली समुदाय बलियो हुन सक्दैन । त्यसैले उनीहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने छु ।

५. बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजना लामो समयदेखि पूरा हुन सकेको छैन । मेरो कार्यकालमा सो योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउनेछु ।

. युकेमा रहेका प्रवासी नेपालीहरुलाई आपतविपतमा सहयोग जुटाउनका लागि एउटा कल्याणकारी कोषको स्थापना गर्नेछु ।

७. अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयमसेवक परिचालन गर्नेछु ।

गैरआवासीय नेपाली संघ भनेको सामूहिक नेतृत्वमा चल्ने संस्था हो । त्यसैले माथिका अजेण्डाबाहेक कार्यसमितिमा छलफल गरी संरक्षक, सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट आएका रचनात्मक र सृजनात्मक परियोजनाहरुलाई स्थान दिई संस्थालाई बलियो र गरिमामय बनाउने मेरो पहल हुनेछ । अन्त्यमा बेलायतमा रहनुभएका सबै प्रवासी नेपाली बाबाआमा दाजुभाइ दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ युकेको यही जुलाई ३१ सम्म सदस्यता लिइदिन हुन र सेप्टेम्बर १४ मा हुने मतदानमा मलाई अमूल्य मत दिनहुन विनम्र अनुरोध गर्दछु ।


प्रकाशित | ३० असार २०७६, सोमबार १०:५१