डिलैमा घर, लान्छ भन्‍ने डर

इटहरी: तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। त्यसैअनुसार सबै सतर्क रहन्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

दुई वर्षअघि साउन २७ गते राति बस्तीका सबै बासिन्दा खाना खाएर सुतेका थिए। राति एक्कासी बाढी आयो। मध्यरात उर्लिएको बाढी त्यही बस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो। परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन्। त्यो बाढीमा ४ घण्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्, ‘अन्त कहाँ जानु रु बाढी कतिखेर आउँछ थाहा हुँदैन।’

११ वर्षदेखि गैरीगाउँमै बसिरहेकी शान्ति सदाले भनिन्, ‘दिउँसो र राति पालैपालो खोला हेर्छौं।’ शुक्रबारदेखि उनी घरमा बस्नै सकिनन्। भाँडाकँुडा र केही लुगा बोकेर हिँडिन्। ‘आउँदैन हौ बाढी’, छिमेकीले भन्दै थिए। तर उनको डर छिमेकीको भरभन्दा दह्रो देखिन्थ्यो, ‘मास्तिर बहिनीकोमा जान्छु, राति उतै बस्छु’, उनले भनिन्।

उनीहरूको बस्ती बूढीखोला किनारको ऐलानी जग्गामा छ। कुनै समय त्यही जग्गाबाट खोलो कुद्थ्यो। खोलाले धार परिवर्तन गरेर छाडेको त्यो जमिन इटहरी चोक र महेन्द्र राजमार्गनजिक थियो। दलहरूका नेताले उनीहरूलाई जग्गा बाँडेपछि उनीहरू त्यहाँ बस्न थालेका हुन्।

बाढी आउने भनेको वर्षमा २÷३ दिन मात्र हो। त्यसैले दुई वर्षअघिको बाढीबाट पीडित पनि त्यो ठाउँ छाडेर जान सक्दैनन्। बरु खोलो बढ्नेबित्तिकै सुरक्षित स्थानमा गएर सुत्छन्। त्यसैले बाढीको वितण्डाबारे सुनेर पनि थातथलो गैरीगाउँमै बनाउन नयाँ मानिस आइरहेका छन्।


प्रकाशित | २९ असार २०७६, आईतवार ०७:१७