काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए ।
यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो । खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै उसका रौनक कपुरले १२ रन बनाए ।
हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो । उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित | २४ असार २०७६, मंगलवार १३:०२