निषेधाज्ञाबीच निक्षेप सङ्कलन र कर्जा लगानी राम्रो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण उच्च गतिमा फैलिएपछि सरकारले गरेको निषेधाज्ञाकै एक साताको समयमा वाणिज्य बैङ्कहरूले १० अर्ब रुपियाँ निक्षेप सङ्कलन र १५ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार बैङ्कहरूले वैशाख १७ देखि २४ गतेसम्ममा १० अर्ब निक्षेप र १५ अर्ब कर्जा लगानी गरेका हुन् । यसरी हेर्दा समग्र वैशाख महिनामा भने बैङ्कहरूको ११ अर्ब निक्षेप घटेको छ भने ३६ अर्ब रुपियाँ कर्जा बढेको छ ।
वैशाख लागेदेखि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै सुस्ताएको थियो । वैशाख पहिलो र दोस्रो साता घटेको निक्षेप सङ्कलन त्यसयता भने सामान्य रूपले बढ्न थालेको थियो ।

बैङ्कहरूको कर्जा लगानी पनि चैतको तुलनामा निकै कमी आएको थियो । वैशाख पहिलो साता बैङ्कहरूको कर्जा लगानी पनि घटेकामा दोस्रो साताबाट नै कर्जा लगानी भने बढ्न थालेको थियो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएकफले आर्थिक गतिविधिहरू चलायमान हुन नसक्दा, आर्थिक गतिविधि चलायमान नहुँदा बैङ्कहरूको निक्षेप र कर्जा लगानी पनि सुस्ताएको हो ।

निषेधाज्ञा सुरु हुने हल्लासँगै बैङ्कहरूबाट बाहिरन थालेको निक्षेप निषेधाज्ञा सुरु भइसकेपछि भने क्रमिक रूपमा केही सुधार आउन थालेको देखिएको छ । निषेधाज्ञाअघि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्न निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको भए पनि निषेधाज्ञाको समयमा बढेको हो ।

एसोसिएसनका अनुसार वैशाख १० गतेसम्ममा २७ वाणिज्य बैङ्कबाट २२ अर्ब बराबरको निक्षेप घटेको थियो । गत चैत ३१ गतेसम्म वाणिज्य बैङ्कहरूमा ३९ खर्ब ४४ अर्ब रुपियाँ निक्षेप रहेकामा वैशाख १० गतेसम्म आइपुग्दा ३९ खर्ब २२ अर्ब रुपियाँमा झरेको थियो । त्यसपछि दुई सातामा भने बैङ्कहरूमा क्रमिक रूपमा पुनः निक्षेप थपिन थालेको थियो ।

वैशाख २४ गतेसम्ममा वाणिज्य बैङ्कहरूले मात्र मूल निक्षेप ३९ खर्ब ३३ अर्ब रुपियाँ सङ्कलन गरेका छन् भने ३६ खर्ब नौ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । वैशाख महिनाका सुरुका सातामा निक्षेप घटेको भए पनि पछिल्ला साताहरूमा थपिन थालेको छ तर कर्जा प्रवाह भने वैशाख महिनाका हरेक साता निरन्तर रूपमा बढी नै रहेको छ । गोरखापत्र दैनीक


प्रकाशित | २९ बैशाख २०७८, बुधबार ०९:४८