म पुन: मेस्सीसँग खेल्न चहान्छु : नेयमार

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताएका छन् ।

च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले मेस्सीसँग खेल्ने चाहना रहेको बताएका हुन् । उक्त खेलमा नेयमारले दुई गोल गरेका थिए ।

नेयमारले मेस्सीसँग कुन क्लबबाट खेल्ने भन्ने पुष्टि गरेका छैनन् । तर, पीएसजी, म्यानचेस्टर सिटी र बार्सिलोनामध्ये एक टोलीबाट उनीहरुले खेल्न सक्नेछन् ।

नेयमार २०१७ मा विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । त्यसअघि चार वर्ष मेस्सी र नेयमारले सँगै ड्रेसिङ रुम शेयर गरेका थिए । बार्सिलोनासँग मेस्सीको सम्झौता २०२१ जुनसम्म अर्थात ६ महिनासम्म रहेको छ ।

‘म पुनः मेस्सीसँग खेल्न चहान्छु । मलाई के चाहिएको छ, मेस्सीसँग फेरि खेल्नुछ । उनीसँग पिचमा रमाउनु छ । म पक्का छु कि अर्को सिजन हामीसँगै हुन सक्छौं,’ नेयमारले इएसपिएनसँग भने,‘ उनी मेरो ठाँउमा खेल्न सक्छन् । त्यसमा कुनै समस्या हुँदैन । म उनीसँग खेल्न चाहान्छु र मलाई विश्वास छ अर्को सिजन त्यो सम्भव छ ।’

पीएसजीसँग नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । मेस्सीले भने यसै समरमा बार्सिलोनाबाट बाहिरिन खोजेका थिए । तर, बार्सिलोनाले उनलाई रोक्न सफल भएको थियो । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अनुबन्धको प्रयास गरेका थिए । अहिले मेस्सीको गन्तव्य तय भइसकेको छैन ।

पीएसजीका स्टार नेयमारले स्पेनमा चार वर्ष रहँदा ठुलो सफलता चाखेका थिए । नेयमार २०१३ मा ब्राजिली क्लब सान्तोषबाट बार्सिलोना आएका थिए । नेयमारले बार्सिलोनाबाट दुई स्पेनिस ला लिगा, तीन कोपा डेल रे, एक स्पेनिस सुपर कप, एक क्लब फिफा विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले गत सिजन पीएसजीबाट लिग वानमा ४४ खेलमा ३१ गोल र २७ असिस्ट दिएका थिए । नेयमारले गत सातामात्रै लिग वानमा ५० खेलमा ५१ गोल गर्दै लिग वानमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् ।

बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार टोनी फ्रेइसाले आफु अध्यक्षमा निर्वाचित भए नेयमारलाई अनुबन्ध गर्ने बताएका छन् ।


प्रकाशित | १८ मंसिर २०७७, बिहीबार १८:१४