एनआरएनए राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार

काठमाडौं: गैर आवासिय नेपाली संघ (एनआरएन) को राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ । एनआरएनको विधानको दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनलाई मर्यादित तथा व्यवस्थित गर्ने उद्देश्यका साथ संघको विधान २००३ /२०१७ संशोधनसहितको दफा १७।६ अनुसार नियमावली तयार गरिएको महासचिव बद्री केसीले जानकारी गराउनुभयो ।

नियमावलीअनुसार राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन विश्व सम्मेलन भन्दा बढीमा ६ महिना र कम्तीमा १ महिनाअघि सम्पन्न गरिसक्नु पर्नेछ । यस्तै परिषद्ले महाधिवेशनको मिति तोकी कम्तीमा एक महिना पहिले क्षेत्रीय संयोजकमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने छ भने महाधिवेशन गर्दा परिषद्का अन्य महाधिवेशनसँग नजुध्ने गरी तोक्नुपर्नेछ ।

नियमावलीअनुसार राष्ट्रिय महाधिवेशनमा पञ्जिकृत सदस्यहले लोकतान्त्रिक तथा विर्नाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का पदाधिकारी तथा सदस्य निर्वाचित गर्न सक्ने व्यवस्था पनि रहेको महासचिव केसीले बताउनुभयो । परिषद्को अध्यक्ष बन्नको लागि सम्बन्धित व्यक्ति परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भर्इ एक वर्ष काम गरेको हुनुपर्नेछ । सो पदमा दुई कार्यकाल भन्दा बढी रहन पनि पाइने छैन ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १८:२५