प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्नुपर्नेमा चौतर्फी दवाव

काठमाडौं:  प्रदेश नम्बर ३ को नाम हाल प्रदेशसभामा दर्ता गराएको नाम ‘गौरीशंकर’ राख्न चौतर्फी दबाब सृजना गरिएको छ । सरोकारवालादेखि विज्ञसम्मले दर्ता भएको नाम राख्द चौतर्फी दबाब सृजना गरिरहेका हुन । उनीहरुले सो नाम सर्वसम्मतिले पारित गर्नुपर्ने धारणा राख्दै प्रदेश ३ को नाम गौरीशंकरको विकल्प नभएको तर्क समेत गरेका छन् ।

प्रदेश नम्बर ३ को सभामा सदस्य विशाल खड्काले नामाकरण गौरीशंकर हुनुपर्ने प्रस्ताव दर्ता गरेपछि बहस सुरु भएको हो । साविक माओवादी केन्द्रले यसअघि उक्त प्रदेशलाई नेवा–ताम्सलिङ्ग हुनुपर्ने प्रस्ताव गरेको थियो । यो नाम पनि प्रस्तावित छ । ७ प्रदेशमध्ये प्रदेश ४ गण्डकी र ६ लाई कर्णाली राख्ने निर्णय ती प्रदेशले गरिसकेका छन् । अन्य प्रदेशमा पनि नाम र राजधानीबारे छलफल भइरहेको छ ।

‘गौरीशंकरको सम्बन्ध कैलाश पर्वतदेखि पशुपति हुदै काशी विश्वनाथ सम्म छ । यो हिमाल नेपालको गौरव समेत हो’, संस्कृतीविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ्गले भन्नभयो ।  गौरीशंकर नामाकरणका लागि बरिष्ठ कलाकार मदनदाश श्रेष्ठको संयोजकत्वमा प्रदेशभरको प्रतिनिधि रहेको अभियान समिति समेत बनेको छ । उक्त समितिले आइतबार काठमाडौमा राखेको कार्यक्रममा प्रमुख वक्ता गुरुङ्गले भने–‘गौरीशंकर नेपालको प्रमाणिक समय निर्धारण हुने हिमाल समेत हो । त्यहा“बाट घाम झुल्कदा मुलुकमा उज्यालो भएको मानिन्छ । घाम डुबेपछि देशभर नै अस्ताएको समय मानिन्छ ।’

बरिष्ठ पत्रकार भैरव रिसालले नामाकरणलाई भुगोल, संस्कृतिबाट जोड्नुपर्ने भन्दै हिमालको नाममा छलफल गर्नु सुझाउनुभयो । कार्यक्रममा पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय राजेन्द्रप्रसाद पाण्डे र आनन्दप्रसाद पोखरेलले हिमालको नामबाट नामाकरण गर्ने विषय पार्टीभित्र ब्यापक बहस भइरहको बताउनुभयो ।

‘गौरीशंकर नाम मलाई जायज लागेको छ’, प्रदेश सदस्य समेत रहेको पाण्डेले बताए । नेकपा प्रदेश नम्बर ३ का सचिव समेत रहेका पोखरेलले संसदबाट सबैलाई स्वीकार्य हुने गरी सहमतिमै नामाकरण हुने जानकारी दिनुभयो । नेकपाकै अर्का नेता एवं सांसद पशुपति चौंलागाईले सांस्कृतिक र राष्ट्रिय महत्वको हिमालको नामबाटै नामाकरण गर्ने विषयमा सांसदहरु एकमत हुने विश्वास राख्नुभयो ।

प्रतिनिधिसभाका सांसद जीपछिरिङ्ग लामा, पार्वत गुरुङ्ग, कांग्रेसका नेता रुद्रबहादुर खड्का सहितले गौरीशंकर नामाकरणले सबैको भावनाको प्रतिनिधित्व गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश सांसदहरु माधव पौडेल, दीपेन्द्र श्रेष्ठ, आङ्गदेण्डी शेर्पा, भावना सुवेदी, राजकाजी महर्जनसहितले उक्त प्रस्तावमा समर्थन गरेका थिए ।

श्रेष्ठको संयोजकत्वमा बरिष्ठ पत्रकार बालकृष्ण बस्नेत, डा.प्रदीप मैनाली, सोभित उप्रेति, बालकृष्ण शिवाकोटी, नरबहादुर पाख्रिन, प्रवीण प्रधान, सन्तोष खड्का, विजय खड्का, गणेश शिवाकोटी, अमृत राउत, भरत केसी, शरण केसी, ज्ञानप्रसाद पौडेल, रमेश श्रेष्ठसहितको समिति बनेको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १९:४३