
भक्तपुर : चाँगुनारायण नगरपालिकाले सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगर प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौता गरेको छ । । नगरपालिकाले पहिलो पटक नगर प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन मूल्यांकन करार सम्झौता गरेको हो ।

शनिबार आयोजित आर्थिक वर्ष २०७९/०८० को समिक्षा तथा नीति तथा कार्यक्रम र बजेट पुस्तीका सार्वजनीकरण कार्यक्रमको अवसरमा नगर प्रमुख जीवन खत्रीले प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीसँग कार्यसम्पादन मूल्यांकन करार सम्झौता गर्नु भयो ।

त्यस्तै, नगर प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेसँगै प्रमुख प्रशासकीय अधिृकत पन्थीले पनि १३ वटा शाखा र ९ वटै वडा कार्यालयका सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सम्झौतामा एक वर्षमा गर्नुपर्ने क्रियाकलपहरु र हासिल गर्नुपर्ने उपलब्धीलाई समेटिएको छ ।

नगर प्रमुख खत्रीले नगरपालिकामा आर्थिक पारदर्शीता र सुशासन कायम गर्न तथा नीति, नियम र विधि सम्बद्ध सञ्चालन गर्न कार्यसम्पादन मूल्यांकन सम्झौता गरिएको बताउनुभयो । नगरपालिकालाई देशकै उत्कृष्ठ पालिका बनाउने उद्देश्य अनुरुप यो सम्झौता गरिएको बताउँदै नगर प्रमुख खत्रीले कर्मचारी, जनप्रतिनिधि सबैलाई थप जिम्मेवार, ब्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कर्मचारी र जनप्रतिनिधिको आ–आफ्नो जिम्मेवारी र परिधि हुने भएकाले सबैले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । नगरपालिका प्रगति र सुशासनको यात्रामा लम्किरहेको बताउनुहुँदै नगर प्रमुख खत्रीले चाँगुनारायण गत वर्षको बजेट कार्यान्वयन गर्ने सवालमा उपत्यकाकै सबैभन्दा बढी पूँजीगत खर्च गरेर उत्कृष्ठ बन्न सफल भएको, पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको, स्वच्छ बायू गुणस्तर ब्यवस्थापन कार्याविधि २०८० मा नेपालकै पहिलो नगरपालिका बन्न सफल जस्ता धेरै उदाहरणीय र नमूना कार्य भइरहेको बताउनुभयो । उहाँले नगरपालिका परिणामुखी र नजितामुखी काम गर्न लागिपरेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिका शिक्षा, स्वास्थ्य, यातायात तथा भौतीक पूर्वाधारलगायतको विकासमा लागिपरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु एकढिक्का भएर नगरको विकास निर्माणमा जुटेकाले कर्मचारीहरु पनि उत्तिकै जिम्मेवार र उत्तरदायी भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले नगरपालिकाले धेरै राम्रा र उदाहरणीय कार्य गरिरहेको बताउनुभयो । आम नगरबासीमाझ नगरपालिकाले गरेका राम्रा कार्यहरुको प्रचार प्रसार गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति शिवहरि केसीले नगरपालिकाले नगरको समृद्धिको पक्षमा राम्रो कार्यहरुको शूरुवात गरेकोमा धन्यवाद दिदैं नगरका कृषकहरुका समस्याहरुलाई सम्बोधन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले पनि चाँगुनारायण नयाँ नगरपालिका भएपनि पुराना नगरपालिकासँग प्रतिस्पर्धा गरेर उत्कृष्ठ बन्दै गएकोमा प्रशंसा गर्नु भएको थियो । कार्यक्रम नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले सञ्चालन गर्नु भएको थियो ।

सोही अवसरमा नगर प्रमुख खत्रीले एक वर्षको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेटिएको पुस्तिका सार्वजनीक गर्नु भएको थियो ।






प्रकाशित | १६ भाद्र २०८०, शनिबार १९:५९