संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै हुने, तीन दिनअघि नै आवेदन दिन आग्रह

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले संस्थागत श्रम स्वीकृतिको काम पनि अब अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ ।

आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने कार्यालयले जनाएको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ ।

संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।

कार्यालयले गएको माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा सेवाप्रवाह गर्न यो व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको बताइएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालयले जनाएको छ ।

कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार ०८:२७