एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ – नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एम एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको महतले बताउनु भयो । प्रवक्ता डा. महतले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत गर्ने विषयमा छलफल भएको पनि बताउनु भयो । ‘स्थानीय तह निर्वाचनमा सशक्त ढंगमा प्रस्तुत हुने निचोड पनि बैठकले निकालेको छ’, उहाँले भन्नु भयो ।

बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका थिए । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल हुने बताउनु भयो । बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्ने उहाँले बताउनु भयो ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार २०:३९