काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएपछि सडकमा सवारीको चाप बढ्न थालेको छ । निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप बढेको हो । बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् ।
आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
आज मंगलबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
प्रकाशित | ८ असार २०७८, मंगलवार ०९:०६