वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री केपी ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिनु भएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको हो ।

काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार १०:३९