राजदूतावासले ‘भिजिट नेपाल कार्यक्रम’ सुटुक्क गरेको भन्दै नेपाली संघसंस्थाले आपत्ति जनाए

कोरिया : कोरियास्थित नेपाली राजदूतावासले ‘भिजिट नेपाल कार्यक्रम’ मा यहाँका कुनै पनि संघसंस्थालाई सहभागि नगराएको भन्दै नेपाली संघसंस्थाले आपत्ति जनाएका छन् । कोरियामा विभिन्न क्षेत्रबाट विभिन्न स्तरमा कार्यक्रम भइरहे पनि राजदूतावासले सुटुक्क कार्यक्रम आयोजना गर्दै बजेट सिध्याउने काम गरेको गुनासो पोख्दै नेपाली संघसंस्थाले आपत्ति जनाएका हुन ।

एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले ‘भिजिट नेपाल कार्यक्रम’मा आफुहरुलाई सहभागि नगराइ बजेट सिध्याउने उद्देश्यले फाइभ स्टारमा कार्यक्रम आयोजना गरिएको भन्दै आपत्ति जनाउनुभयो । ‘भिजिट नेपाल’ सफल बनाउन एनआरएनएनले आयोजना गरेका कुनै पनि कार्यक्रममा राजदूतावासले वेवास्था गर्ने र आफूहरुलाई सहभागि पनि नगराउने कार्यले कोरियामा ‘भिजिट नेपाल कार्यक्रम’ सफल बनाउने भन्दा बजेट सकाउने कार्यतर्फ उद्धत भएको देखिन्छ’, अध्यक्ष गुरुङले गुनासो गर्दै भन्नुभयो । कोरिया राजदूतावासले केहि दिन अघि मात्र फाइभ स्टार लोते होटलमा ‘भिजिट नेपाल कार्यक्रम’ आयोजना गरेको थियो ।

अध्यक्ष गुरुङ भन्नहुन्छ, ‘आफुले चिनेको पुराना कोरियन दुई चार जनालाई बोलाएर बजेट रित्याउने उद्देश्यले भिजिट नेपाल कार्यक्रम आयोजना गरिएकोप्रति हाम्रो घोर आपत्ति छ ।’ एनआरएनले आयोजना गर्ने कार्यक्रममा ईमेल गर्दा पनि कुनै रेस्पोन्स नगर्ने र उपस्थित नुहने गरेको स्मरण गर्दै राजदूतावासको गैरजिम्मेवारीपन बढेको भन्दै आलोचना गर्नुभयो ।

त्यस्तै, कोरियाबासी गिरीराज कुँवरले कार्यक्रम सुटुक्क गरिएको भन्दै गुनासो गर्नुभएको छ । कुँवर सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘यो कार्यक्रमको बारेमा पत्तो पनि भएन । बधाई छ ! नेपाली दुतावास दक्षिण कोरियालाई । निम्तो कता कता गएछ कुन्नी दुई चार जना चिन्ने र समाजिक कुरा राख्ने ठाउँमा एनआरएन, पत्रकार, सामाजिक व्यक्तित्वहरू, समाजिक अभियान्ताहरू , राष्ट्रप्रेमी कोही देखिएन् ।’

जितेन्द्र महत्त सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘आजकल कोरियामा दैनिक जसो नेपाली समुदायमा पीडा नै पीडामा छन् त्यसमा राजदूतावासले आफ्नो कुनै भूमिका निभाएको देखिएको छैन । जे जति उद्दारका कार्यहरु भएका छ्न ती सबै नागरिक स्तरबाट भएका छन् । दुतावास हरेक समस्यामा कानमा तेल हालेर बसेको छ ।’

महत थप्दै भन्नुहुन्छ, ‘ हिजो मात्र एउटा पीडितको सल्लाह लिन दूतावासमा हामीले पांच पटक गर्यौ, फोन उठेन त्यताका दुईजना कर्मचारीलाई फोन गरे उठाएनन । यस्तो अवस्थामा अब दूतावासको आफ्ना नागरिकप्रतिको कुनै चासो नै छैन भने कसरी दुर्घटनामा परेका वा विरामीहरुको उद्दार गर्न सकिन्छ होला र खै ?’ उता राजदूतावासले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०९:२३