उपत्यकामा ९०२ सहित १ हजार ५५९ कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २०५ नमुना परिक्षणमध्ये १ हजार ५५९ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा १०५७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा ९०२ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ।

थप सातको मृत्यु

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ। ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष, रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १४ आश्विन २०७७, बुधबार १६:४४