काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताउनुभयो ।
स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ । विदेशमा ३४ हजार ५१५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित | ४ आश्विन २०७७, आईतवार १३:४३