काठमाडौं उपत्यका प्रवेश गर्न पिसिआर नेगेटिभ अनीवार्य

काठमाडौं – काठमाडौं उपत्यकामा प्रवेश गर्न कोरोना परिक्षणको पिसिआर रिपोर्ट अनीवार्य रुपमा नेगेटिभ भएको हुनुपर्ने ब्यवस्था गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप्दै तीनै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन जारी गरेका हुन । जारी निर्देशनअनुसार यो अवधिमा अत्यावश्यक काम परी काठमाडौं उपत्यका प्रवेश गर्नुपरे अनिवार्य रूपमा पिसिआर रिपोर्ट पेस गर्नु पर्ने भएको हो ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम राख्दै यस्तो आदेश जारी गरेका हुन्।

यसअघि निषेधाज्ञाका समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने सम्बन्धमा कुनै पनि आदेश जारी नभएपनि यसपटकको बैठकले भने पिसिआर रिपोर्ट अनिवार्य गरेको हो। उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थप गरिएको हो।

अब निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

निषेधाज्ञाको समयमा टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा पनि खुला गरिएको छ । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।


प्रकाशित | १७ भाद्र २०७७, बुधबार २०:२५