आर्सनललाई एफए कपको उपाधि

एजेन्सी – आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । निकै रोमान्चक बनेको फाइनलमा एक गोलको अग्रता उल्टाएर आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए । खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।

यस्तै मिकेल अर्टेटाको टिम आर्सनलले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेपनि अर्टेटाले टोलीलाई एफए कप जिताउन सफल भए । त्यस्तै अर्टेटाले आर्सनलका लागि खेलाडी र प्रशिक्षकको रुपमा समेत एफए कप जित्न सफल भएका छन् ।

यस अघि आर्सनलले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो । चेल्सीले भने म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएर आर्सनलसँग उपाधि भिडन्त पक्का गरेको थियो ।


प्रकाशित | १८ श्रावण २०७७, आईतवार ०९:२७