नेपालमा थप १३९ जनामा संक्रमण, तीन जनाको निधन

काठमाडौं : नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १३९ जनाका संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ।

सोमबार थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ७ सय ५४ जना उपचारपछि निको भएका छन्।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल क्वारेन्टिनमा १६ हजार ३७९ जना छन् । त्यसैगरी, आइसोलेशनमा करिब पाँच हजार जना बिरामी छन् ।

थप तीन जनाको निधन

नेपालमा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।

पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।


प्रकाशित | १२ श्रावण २०७७, सोमबार १६:४२