म्याग्दीमा बाढी पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, बेनी -जोमसोम सडक अवरुद्ध

म्याग्दी : म्याग्दी जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको हो ।

त्यसैगरी, धौलागिरी गाउँपालिका–६, मराङमा १२ जना बेपत्ता भएको प्रजिअ ढकालले बताउनुभयो । उहाँका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७, बिममा १० घर पूर्णरुपमा क्षति भएको छ ।

घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले पूरा विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरले बताउनुभयो ।

उता बेनी -जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदीमाथिको बेलीब्रिज नदीको कटानले पूर्णरुपमा क्षति भएकाले सडक अवरुद्ध भएको छ


प्रकाशित | २६ असार २०७७, शुक्रबार ११:००