पर्वतमा पहिरोमा पुरिएर तीनको मृत्यु, छ जना वेपत्ता

कुश्मा : शनिबार राती भीषण वर्षा सहित खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । गए राती गएको पहिरोमा पुरिएर स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।

कुश्मा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले राती दुई बजेसम्म तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको बताउनुभयो । वडाध्यक्ष पाध्याका अनुसार राती वर्षा हुँदा खोजी कार्यमा कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएको जानकारी गराउनुभयो । डिएसपी अधिकारीका अनुसार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको छ ।

स्थानीयका अनुसार दुई घरमा रहेका तुलबहादुरका छोरा, दुई नाति र कमला विकको घरका उनी सहित तीन जना वेपत्ता छन् ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार ०७:५९