कम्तिमा ३ बर्ष बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कम्तिमा ३ बर्षका लागि बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले दुई प्रतिशत सम्बन्धित बैंकले र ३ प्रतिशत पुनकर्जा कोषले व्यहोर्ने गरी पाँच प्रतिशत व्याज घटाउन सरकारसँग माग गर्नुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले उद्योग तथा प्रतिष्ठानलाई कर्मचारी तलव खर्चका लागि पाँच प्रतिशत व्याजमा पुनकर्जा कोष परिचालन गरी २ बर्षे किस्ताबन्दीको व्यबस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अस्त व्यस्त भएको अर्थतन्त्र संहाल्न कठिन भएको भन्दै महासंघले सरकारसँग राखिएका मागहरु पुरा नभए सबै उद्योगहरु बन्द गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

लकडाउनका कारण उद्योग, व्यापार, सेवा क्षेत्र ठप्प रहेको जनाएको छ । उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई पुनरूत्थान गर्न आफूले अघि सारेका मागहरु सुनुवाई गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

साथै महासंघले अति आवश्यक वस्तुका उद्योग, व्यापार तथा व्यवसायमा समेत कच्चा पदार्थको अभाव, कामदार कर्मचारीहरूको अभाव र बजारको समस्याका कारण न्यून क्षमतामा मात्र संचालन भएको बताएको छ ।


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार १५:३३