गुल्मीमा निर्माणाधिन पुल भत्कियो : ठेकेदारसहित पाँच जना घाइते, ठेकेदारको अवस्था गम्भीर

गुल्मी : गुल्मीको मुसिकोट नगरपालीकामा अवस्थित बडिघाट खोलामा निर्माणाधिन पुल भत्किएको छ । निर्माणाधिन पुल भत्किँदा ठेकेदारसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । पुल भाँचिदा ठेकेदारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले जानकारी दिनुभयो । खडकाका अनुसार मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा भत्किएको हो ।

घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेकाछन् । घाइतेहरुलाई उपचारका लागि वाग्लुङ्गको हटिया लगिएकोमा पछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते मध्ये ठेकेदार इटनीको अवस्था गम्भीर रहेको छ । गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलानको क्रममा भाँचिएको हो । पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवाले गरिरहेको थियो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०९:२८