सिरहामा राहत वितरणको विषयलाई लिएर झडप, डीएसपीसहित ५ जना घाइते

जनकपुर:  सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । त्यहाँस्थित सञ्चारकर्मी सुजीतकुमार झाका अनुसार झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइतेहरूको मिर्चैयास्थित १ अस्पतालमा उपचार भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित फूलबरियामा वडा अध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि राहत लिन पुगेकाहरूले ढुंगामुढा गर्न थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी गराउनुभयो ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार १७:४०