अफ्रिकामा २० हजार डलरको आपतकालीन राहत कोष खडा गर्ने एनआरएनएको निर्णय

कम्पाला (युगान्डा ) : गैर आवासीय नेपाली संघले अफ्रिकामा २० हजार डलरको आपत्तकालीन राहत कोष खडा गर्ने निर्णय गरेको छ । कोषमा हालसम्म ११ हजार ६ सय अमेरिकी डलर जम्मा भएकोमा उक्त रकमलाई बढाएर २० हजार अमेरिकी डलर पुर्याउने निर्णय गरिएको हो ।

एनआरएनए सदस्यद्वारा गठित एनआरएनए अफ्रीका राहत कोषको आज बसेको पहिलो अनलाइन बैठकले सो निर्णय गरेको हो । बैठक कोषका संस्थापक संयोजक हिक्मत थापाको अध्यक्षतामा बसेको थियो ।

बैठकमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना प्रकोप र उक्त प्रकोपका कारण अफ्रीकामा रहेका नेपालीहरुमा पर्न सक्ने समस्या र उद्धारका बिषयमा छलफल भएको थियो ।  कोरोना महामारी विस्तारै अफ्रीकाका अधिकांश मुलुकहरुमा समेत तीब्र रुपमा फैलिएकाले अफ्रिकामा रहेका नेपालीहरुलाई पर्न सक्ने स्थितिलाई ध्यान दिर्दै बैठक बसेको हो ।

बैठकमा अफ्रीकाका विभिन्न देशहरुमा रहंदै आउनुभएका एनआरएनएन अध्यक्ष र एनआरएनएका सक्रिय अभियन्ताहरुको उपस्थित रहेको थियो। बैठकले लिखीत एजेन्डामाथी छलफल गर्दै सोहिअनुरुप निर्णयलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने निस्कर्ष समेत निकालेको छ ।

साथै बैठकले कोष संचालन समितिको गठन गर्दै कोषका संस्थापक संयोजक हिक्मत थापालाई पुन संयोजकमा चयन गरेको छ भने सबै एनसिसिका अध्यक्ष र एनसीसी नभएको देशबाट उक्त कोषका लागि कार्यरत एक एक जना साथी पदेन सदस्य रहने गरि सर्वसहमतिमा पदाधिकारी सहितको कोष संचालन समितीको गठन गरेको छ।

समिति संयोजकमा हिक्मत थापा, सह संयोजकमा रोशन थापा, बिदुर खनाल, सदस्य सचिवमा रमेश कंडेल र कोषाध्यक्षमा कुल कार्कीलाई चयन गरेको छ।  बैठकले आवश्यकताअनुसार कोष संचालन समितिमा संयोजकले अन्य २ सदस्यलाई समेत थप गर्नसक्ने जनाइएको छ । समितिले समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग गर्नेछ ।


प्रकाशित | १४ बैशाख २०७७, आईतवार ०२:०४