कोरोना विरुद्धको युद्धमा सरकारको नजर

उद्धव लुइटेल, टोकियो, जापान

यतिबेला विश्व कोरोना भाइरस संक्रमणको भयबाट आक्रान्त छ । २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको बुहानमा पहिलो पटक देखिएको यो भाइरस करिब तीन महिनापश्चात् संसारका अधिकांश मुलुकमा फैलियो । मानिसबाट मानिसमा श्वास र स्पर्शबाट सजिलै सर्ने कोरोनाको महामारीले विश्व आक्रान्त भइरहदा चीनले भने यसको फैलावटलाई नियन्त्रणमा लियो । संक्रमणको उच्च जोखिममा रहेका बुहानलगायतका सहरहरूलाई लकडाउन गरेर चीनले छोटो समयमा कोरोना विरुद्धको लडाईंमा विजय हासिल गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले बताइरहेका छन ।

जतिबेला कोरोनाको महामारी विरुद्ध चीन एक्लै लडिरहेको थियो त्यतिबेला युरोप र अमेरिका गम्भीर थिएनन् । पश्चिमा राष्ट्रहरूको नक्कल गर्ने संसारका अन्य थुप्रै देशहरू चीर निद्रामा थिए । मानौं कि कोरोना चीनको निजी समस्या हो । त्योसँग हाम्रो माइती मावलीको सम्बन्ध छैन । तर यथार्थ यस्तो थिएन । यो एउटा महामारी थियो । यो महामारी चीनबाट अन्यत्र फैलन कुनै देशको अध्यागमनको कानुनले छेक्न वा थुन्न सक्दैनथ्यो । परिणाम पश्चिमा राष्ट्रहरूले अनुमान गरेभन्दा ठिक उल्टो देखियो । उनीहरूको विश्लेषण मनोगत थियो । दूरदर्शी थिएन । जसको फलस्वरूप युरोप र अमेरिकाका धेरै नागरिकहरूले यसको चपेटामा फस्नुपर्यो भने हजारौंले जीवन गुमाउनु पर्यो ।

चीनका जनताहरू कोरोनाको भयावह परिस्थितिसँग जुधिरहदा सचेत नदेखिएका गैरयुरोपेली र गैरअमेरिकी राष्ट्रहरू युरोप र अमेरिकाका समाचारहरू पढ्दै र सुन्दै गएपछि मात्र चीर निद्राबाट बिउँझिए । नेपाल सरकार पनि यहिँ पंक्तिमा उभिएको थियो । किनभने गतवर्षको डिसेम्बर ३१ मा चीनमा देखापरेको कोरोना संकटको करिब एघार हप्तापछि मात्र लकडाउनको घोषणा गरियो । यो अवधिमा चीनबाट कति नेपाल आए र गए त्यसप्रति कुनै पनि नेपाली अधिकारीहरू सचेत देखिएनन् ।

चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म नेपाल सरकारले सिंगों देशलाई लकडाउन घोषणा गरेर राखेको छ । लकडाउन कोरोना भाइरस विरुद्धको विजयका निम्ति अन्तिम उपाय होइन । यो त संक्रमण नियन्त्रणका निम्ति उपयुक्त विधि मात्र हो । हालसम्म नेपालभित्र केकति व्यक्तिहरू कोरोनाबाट संक्रमित छन र तिनीहरू संक्रमित भएपश्चात् केकति मानिसहरूमा यो फैलियो त्यसको पर्याप्त खोजीमा सरकार चुकिरहेको सत्य हो । किनकि यसको संक्रमणलाई बेलैमा पहिचान र नियन्त्रण नगरे भयावह परिस्थितिको सामना गर्नुको विकल्प छैन ।

सरकारले कोरोना नियन्त्रणका निम्ति केही महिना अघि नै विभिन्न कदमहरू चाल्न सक्थ्यो । जस्तो कि आवश्यक सामग्रीको खरीद, सचेतना कार्यक्रमहरूको सन्चालन, विदेशबाट नेपाल भित्रिनेहरू माथि कडाई आदि कामहरू सरकारले सहजै गर्नसक्थ्यो । सन्चारमाध्यमहरू कोरोनाको फैलने गतिमा भन्दा प्रधानमन्त्रीको किडनी प्रत्यारोपण र गोकुल बास्कोटाको कमिसन काण्डको समाचारमा अनावश्यक रूपले केन्द्रित भए । युरोप अमेरिकामुखी कर्मचारीतन्त्र, सन्चारमाध्यम र राजनीतिका खेलाडीहरूले यसबारेमा आफ्नो ध्यान केन्द्रित नगर्दा देश एक्कासी लकडाउनको कठिन परिस्थितिमा बस्नुपर्यो । जबकि लकडाउन गर्नुपूर्व सरकारसँग थुप्रै समय र विकल्प बाँकी थियो ।

सरकारले गर्नैपर्ने काम 

अहिले देश एक हप्ताका लागि लकडाउन गरिए पनि त्यो पर्याप्त देखिँदैन । किनकि कोरोना संक्रमणको करिब दुई हप्तापछि मात्र यसका लक्षणहरू देखिन्छन । तसर्थ अरू एक हप्ता लकडाउनको अवधि थप्नु आवश्यक छ । त्यसपछि भने सरकारले परिस्थिति हेरेर निर्णय गर्नसक्छ । लकडाउन किन गरिएको भन्ने बारेमा धेरैलाई थाहा नभएको देखिन्छ । यसको ययार्थ जानकारी सबै माझ विभिन्न माध्यमद्वारा सरकारले प्रेषित गरिरहनु आवश्यक छ । ताकि देशको अभिभावक सरकारसँग जनताहरूले असन्तुष्टि व्यक्त नगरून् । लकडाउनको अवधिमा कोरोना संक्रमितहरूको व्यापक खोजी र पहिचान गरेर तिनीहरूलाई अबिलम्ब नियन्त्रणमा लिनुपर्दछ । संक्रमितहरूका परिवारलाई पनि कडा निगरानीमा राख्नुपर्दछ । सुरक्षाकर्मीहरू र स्वास्थ्यकर्मीहरूको जीवनसुरक्षामा सरकारले मिहिन ढंगले ध्यान दिनुपर्दछ । यो समयमा सडकहरू सुनसान छन । सुरक्षाकर्मीहरू लगाएर भए पनि सडकहरूको सरसफाइ गरेर देशलाई स्वच्छ राख्नुपर्दछ ।

दैनिक मजदुरी गरेर खानेहरूलाई सरकारले तुरुन्तै राहत कार्यक्रम घोषणा गरेर घरघरमा खाद्य सामग्री सहजै पुर्याउने व्यवस्था गर्नु पर्दछ । लकडाउनका बेला गरिबका चुलामा आगो नबल्ने अवस्थाप्रति सरकार एक्सनमा उत्रिहाल्नु पर्दछ । सार्वजनिक स्थानहरूमा औषधि छर्कने र पुछ्ने काम अबिलम्ब गरिहाल्नु पर्दछ ।

जापानमा कोरोना संक्रमणको प्रभाव 

केही महिना पहिले एउटा पानीजहाजमा यात्रा गरेर आएका यात्रुहरूमा कोरोना संक्रमण देखिएपछि जापान सरकारले तिनीहरूलाई जमिनमा आउन दिएन । यदि तिनीहरू जापानको जमिनमा आएका भए टोकियो र त्यस वरपरका क्षेत्रहरूको अवस्था भयावह हुने सुनिश्चित थियो । अन्तर्राष्ट्रिय उडानहरूबाट जापान भित्रिएका मानिसहरूलाई पनि केही हदसम्म कड़ाई गर्यो र कोरोना फैलिएका मुलुकहरूसँगको उडानलाई कम गर्दै लग्यो । कतिपय स्थानहरूमा छिटफुट रूपमा देखिएको कोरोना संक्रमण सरकारको सावधानीले एक हजार नाघ्न पाएन । विद्यालयहरू पनि समय अगाडि नै बन्द गरियो ।

जापानीहरू केही दूरीमा बसेर शीर निहुर्याएर अभिवादन गर्ने सांस्कृतिक चलनले कोरोना संक्रमणको फैलने गति अन्यत्रजस्तो देखिँदैन । दैनिक शरीरको तापक्रम नाप्नु पर्ने नियमलाई अधिकांश नागरिकहरूले स्वत:स्फुर्त रूपमा स्वीकार्दा यसको पहिचानमा सहज वातावरण कायम भयो । सार्वजनिक स्थानहरूको सरसरफाइ गर्ने र रेलिङहरू नित्य पुछिरहने जापानी प्रचलनले पनि कोरोना फैलन नदिन अहम् भूमिका खेलेको छ । होटल र रेस्टुरेन्टहरू आंशिक रूपमा खुलिरहेकै छन । कतिपय मनोरन्जन स्थलहरू बन्द गरिए पनि मानिसहरू सार्वजनिक रूपमा आवतजावत गरिरहेकै छन । उद्योगहरू पनि चलिरहेकै छन ।

चीनको पछिल्लो कदम

आफ्नो मुलुकभित्र कोरोना नियन्त्रणका निम्ति सबै उपाय अबलम्बन गरेपश्चात नाटकीय रूपमा चीनले सफलता हात पार्यो । मुलुक सुरक्षित बन्दै गएको सन्देश प्रवाह गरेसँगै चीनले कोरोनाको चपेटामा परेका अन्य मुलुकहरूमा मानवीय सहयोगको हात अघि बढाएको छ । यसबाट चिनिया लगानी हतियार उत्पादन र सैन्य गतिविधिमा केन्द्रित छ भनेर प्रचार गर्ने पश्चिमा सन्चार माध्यमहरूले पल्टाबाजी खाएको बुझ्न गाह्रो छैन । इटाली कोरोना संक्रमणबाट तहसनहस भइरहदा चीनले चिकित्सक र उपचार सामग्री पठाएर सहयोग गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मिडियामा चीनको अपमानमा शब्दहरू खर्च गरिरहेका थिए । जबकि यतिबेला अमेरिका स्वयं कोरोना संक्रमणबाट हायलकायल छ । चीनको अठोट, धैर्य, संकल्प र मिहिनेतको प्रतिफल स्वरूप धेरै चिनिया नागरिकहरूको जीवनरक्षा भएको छ ।

चिनिया सहयोग नेपालका निम्ति यतिबेला ठूलो भरोसा हुनसक्छ । यद्यपि चीनले कोरोना विरुद्ध वारपारको लडाई लडिरहँदा नेपाल सरकारले हामी पनि तपाईहरूको साथमा छौं भनेर दुई शब्द खर्च गर्न सकेको थिएन । चीन तारिफको भोको छ भन्ने उसको इतिहासमा कहिँ कतै देखिँदैन । यसर्थ उसको स्वत:स्फुर्त सहयोग गर्नुका अतिरिक्त आवश्यक स्वास्थ्य सामग्री खरीदका निम्ति नेपाल सरकारले तुरुन्त कुटनीतिक पहल चालिहाल्नुपर्छ। यतिबेला आम नेपालीहरू सरकारका एकएक गतिविधिहरू मूल्यांकन गरेर बसेका छन । जनताले लिएको परीक्षा कुनै पनि सरकारका निम्ति मूल्यवान् हुन्छ ।


प्रकाशित | १३ चैत्र २०७६, बिहीबार ११:४९