को बन्लान् नयाँ गभर्नर ?

काठमाडौं : चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्।

उच्च पदमा ‘राम्रोभन्दा हाम्रो मान्छे’ नियुक्ति गर्ने प्रचलनका कारण भावी गभर्नरमा पनि कुन नेताको सिफारिसमा कसले नियुक्ति पाउँछ भन्ने चर्चा चलेको हो।

अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा अहिलेसम्म अर्थमन्त्री युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खासै छलफल हुन नपाएको बताउँछन्।

गभर्नरका आकांक्षीहरूले अर्थमन्त्री खतिवडा, नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटी अनुनय– विनय गर्नुबाहेक अहिलेसम्म थप केही भएको छैन।

अर्थ र प्रधानमन्त्री कार्यालयका ती अधिकारीहरूले छलफल हुन बाँकी रहे पनि गभर्नरका लागि हुने सिफारिसमा तीनैजनाका ‘आ–आफ्ना मान्छे’ पर्ने बताए।

ती अधिकारीहरूले प्रधानमन्त्री ओलीका तर्फबाट अहिलेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, अर्थमन्त्री खतिवडाका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र दाहालका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ गभर्नरका लागि सिफारिसमा पर्ने दाबी गरे।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ गभर्नर छान्न समिति गठन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। अर्थमन्त्री संयोजक हुने समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने र तीमध्येबाट सरकारले एकलाई नियुक्त गर्ने व्यवस्था छ। ऐनले किटानी व्यवस्था गरे पनि गभर्नर नेपालको कार्यकाल सकिन एक साता मात्र बाँकी हुँदा पनि समिति गठन भएको छैन।

मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएको हिसाबले व्यवहारिक रुपमा हेर्दा गभर्नर छान्ने अधिकार अर्थमन्त्रीको हो। मौद्रिक नीतिलाई हाँकेर बस्ने गभर्नरले अर्थमन्त्रीसँग मिलेर काम गर्नुपर्ने हुन्छ। तर विगतदेखि नै गभर्नर छनोट प्रधानमन्त्रीको इच्छामा हुँदै आएको छ। यसपटक पनि अवस्था त्यस्तै देखिएको ती अधिकारीहरूले बताए।

अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सिफारिसमा जो परे पनि नयाँ गभर्नर प्रधानमन्त्री ओलीले चाहेको व्यक्ति हुने दाबी गर्छन्। अहिलेको अवस्थामा खतिवडाले ‘यो व्यक्ति ठिक छ हजुर’ भन्नेबाहेक केही गर्न नसक्ने दाबी पनि उनीहरुको छ।

आफ्नै पार्टीका शीर्ष नेताहरूबीचको ठूलो राजनीतिक रस्साकस्सीपछि ओलीले खतिवडालाई फेरि अर्थमन्त्री बनाएका छन्। त्यसैले खतिवडा ओलीलाई रत्तिभर दबाब दिने हैसियतमा छैनन्।

ती अधिकारीहरूका अनुसार अहिलेसम्म प्रधानमन्त्री र अर्थमन्त्रीबीच गभर्नरका बारेमा खासै छलफल भएको छैन। प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएर काममा फर्केपछि मात्र यसबारे दुईजनाबीच छलफल हुनेछ। अहिले तत्काल समितिसम्म बन्न सक्छ।

नयाँ गभर्नर नियुक्तिका लागि नेकपाका नेताहरूले अहिले ओलीलाई दबाब दिन सक्ने अवस्था नभएको ती अधिकारी बताउँछन्। नेकपा नेताहरुले ‘सभामुख चयन र वामदेव गौतम’ प्रकरणमा ओलीलाई पर्याप्त दबाब दिए पनि सरकार सञ्चालनको सबालमा दबाब दिन नसक्ने देखिन्छ।

ओली नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा नेकपाका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत कसैसँग पनि छलफल गर्ने पक्षमा नरहेको पनि ती अधिकारीले बताए। आजको नागरिक दैनिकबाट


प्रकाशित | २७ फाल्गुन २०७६, मंगलवार ०८:५८