साग क्रिकेट : नेपाललाई ऐतिहासिक कास्य

काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनकाे याेगदान दिए । यस्तै रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहे । बिनोद भण्डारीले १२ रनको योगदान गरे ।

माल्दिभ्सका उमर अदमले ३ विकेट लिए । यसअघि कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे ।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । सन् २०१० मा पहिलो पटक क्रिकेट समावेश गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो । पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।


प्रकाशित | २३ मंसिर २०७६, सोमबार १३:१४