आन्दोलनरत चिकित्सकहरूले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं : आन्दोलनरत नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका छन् । संघले ७२ घन्टासम्म आफूहरुको माग पूरा नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । संघले आफूहरुको माग वार्ता र संवादको माध्यमबाट माग पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने भन्दै सरकारलाई अल्टिमेटम  दिएका हुन ।  संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको समायोजन गर्दा अन्याय भएको भन्दै सरकारी चिकित्सक देशभर आन्दोलनमा छन्। सरकारी चिकित्सकहरूको आन्दोलनको छैठौँ दिनसम्म जारी छ ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ७२ घण्टाभित्र नेपाल सरकारले वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ। अन्यथा, चिकित्सकहरूको माग र संवेदनशिलतालाई बेवास्ता गर्दै चिकित्सकहरूको मान मर्यादालाई अबमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्न बाध्य हुने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १७:५३