एनआरएनएमा धेरै सुधारहरु हुन्छन् भन्ने आसा छ: शेष घले

सिड्नी: गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले एनआरएनएमा धेरै सुधारहरु हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । एनआरएनए आइसिसी उपाध्यक्षमा निर्वाचीत मन केसीले सिड्नीमा आयोजना गर्नुभएको धन्यवाद ज्ञापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख संरक्षक घलेले एनआरएनमा धेरै सुर्धारको खाँचो रहेको भन्दै वर्तमान कार्यसमितिबाट सुधार हुनेमा आसावादी रहेको विचार ब्यक्त गर्नुभयो ।

संस्थालाई अगाडि बढाउन एनआरएनएले यसअघि पारित गरिसकेको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको भन्दै घलेले निर्वाचनमा अधिकांश उम्मेदवारहरुको एजेन्डा भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड नै भएकोमा खुसी समेत लागेको बताउनुभयो ।

निर्वाचनमा अधिकांश उम्मेदवारहरुको चाहाना भिजन ट्वान्टी ट्वान्टी भएकाले नयाँ कार्यसमितिले सो एजेन्डालाई कार्यान्वयनमा लग्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

घलेले एनआरएनएलाई जिम्मेवार, पारदर्शी बनाउनुपर्ने खाँचो रहेको भन्दै संस्थामा यो भो त्यो भो भनेर गाली गरेर बस्ने समय नभएको समेत बताउनुभयो ।

‘अब गाली गर्ने भन्दा राम्रो काम गरेर निरन्तरता दिनुपर्ने अवस्था आएको छ’, घलेले भन्नुभयो, ‘संस्थालाई यो अवस्थासम्म ल्याइपुर्याउन ठूलो स्रोत र साधन खर्च भइसकेको छ । अब गाली गर्ने मात्र नभई एनआरएनको भविष्य बनाउन तर्फ लाग्न सबैमा अनुरोध गर्न चाहान्छु ।’ जती गाली गरे पनि जे गरे पनि हामीले रिपेयर गर्नुपर्ने खाँचो रहेको भन्दै घलेले नेपाली समुदाय र नेपाल सरकारलाई गरेर देखाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, घलेले एनआरएनए अस्ट्रेलियाले लागू गरेको सिस्टम र गरेका उदाहरणीय काम आइसिसीले सिक्न जरुरी रहेको भन्दै अस्ट्रेलियाका योजना निकै राम्रा भएको र एनसिसीले गरेका राम्रा कामको सबैले अनुशरण गर्नुपर्ने धारण समेत राख्नुभयो ।

एनआरएनए अभियन्ता दिपक खडकाले हाई फाई नगरि पैसा खर्च नगरि सहजै चुनाव जित्न सफल हुनुभएकोमा उपाध्यक्ष मन केसीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिर्दै एनआरएनए प्रवासको लागि सबैले मन पराएको संस्था भएकाले सामान्य ब्यक्ती पनि नेतृत्वमा पुग्न सक्ने र पहुँच राख्न सक्ने वातावरण बनाउन सक्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार जमुना गुरुगं, आइसिसी महिला फोरम संयोजक भोमा लिम्बु, आरसी होमनाथ पाण्डेलगायतत नवनिर्वाचीतको सहभागिता थियो । कार्यक्रममा आयोजक आइसिसी उपाध्यक्ष मन केसीले सबैमा धन्यावद ज्ञापन गर्नुहुँदै एनआरएनलाई सुर्धाने कार्यमा आफूहरु लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


प्रकाशित | १ मंसिर २०७६, आईतवार १२:०५