नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध गरिए पनि लगानी फिर्ता लैजान अटेरी

काठमाडौं : नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध गरिए पनि लगानीकर्ताहरूले अटेरी गरेका छन् । विदेशी लगानीका लागि स्वीकृति दिने सरकारी निकाय उद्योग विभागले तीन पटक ताकेतापत्र काटिसक्दा पनि कोरियाली लगानीका व्यवसाय बन्द भएका छैनन् । विभागले अन्तिम ताकेतापत्र काटी समय दिएको बिहीबार अन्तिम दिन हो । तर, कुनै पनि व्यवसाय बन्द गरेको जानकारी विभागलाई आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली गतसाता असंग्लन राष्ट्रहरूको सम्मेलनमा अजरबैजानको बाकु जाँदा उत्तर कोरियाली अधिकारीहरूले भेट गरी यस विषयमा चासो देखाएका थिए ।

विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले व्यवसायीहरूलाई सम्बद्ध व्यवसाय बन्द गरेको जानकारी गराउन पटकपटक ताकेता गर्दा पनि कुनै व्यवसाय बन्द भएको जानकारी नआएको बताए । “बिहीबारसम्म अन्तिम समय थियो, दुईवटाले ताकेता पत्र बुझेका छन् भने अन्य ७ वटा सम्पर्कमा आएका छैनन्,” निर्देशक लुइँटेल भन्छन्, “अबको कारबाही के कस्तो हुने भन्ने सम्वन्धमा सम्बन्धमा गृह, परराष्ट्र र उद्योग मन्त्रालयको छलफल पछि मात्रै भन्न सकिने उनी बताउँछन् । नेपाल प्रहरी स्थानीय प्रशासनको रोहवरमा अनुगमन गर्दा स्थलगत रुपमा व्यवसाय पनि भेटिएका छैनन् तर नेपालमा उत्तर कोरियाको लगानीका विभिन्न ९ वटा व्यवसाय सञ्चालनमा रहेको उद्योग विभागको तथ्यांक छ । यो समाचार आजको कारोबार दैनीकमा सरस्वती ढकालले लेखेकी छिन् ।

संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरूलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशक दिएपछि नेपालस्थित कोरियाली दूतावासलाई सरकारले पत्राचार गरेको थियो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । पत्राचारको कुनै प्रतिउत्तर नआएको र व्यवासीहरूले पनि सम्पर्कमा नआएको विभागले जनाएको छ ।

सरकारले नयाँ लगानीमा प्रतिबन्ध लगाउने, भइसकेको लगानी फिर्ता पठाउने र नेपालस्थित विभिन्न उद्योग व्यवसायमा कार्यरत कोरियाली नागरिकको भिसा थप नगर्ने निर्णय गरेको छ । नेपालमा सञ्चालित उत्तर कोरियाली लगानीका उद्योगहरूमा सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पतालसँग सम्बन्धित छन् । यी उद्योग व्यवसाय बन्द गरी वा समय सीमाभित्र बिक्री गरेर विभागलाई जानकारी गराउन अन्तिम अवसरको पत्र एक महिना अगाडि काटेको थियो । विभागका अनुसार कोरियाको लगानीमा सञ्चालित हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, मिनाज रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान छन् । यी व्यवसायलाई बन्द गरेर तत्कालै लगानी फिर्ता लैजान पत्र काटेको थियो । यसमध्ये बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार र मिनाज रेष्टुरेन्ट एण्ड बारले पत्र बुझेका छन् । तनहुमा सञ्चालित अस्पताल बन्द भएको भनिएको छ तर लिखित रुपमा जानकारी आएको छैन यसका लागि स्थानीय प्रशासनको सहयोग लिएकोले शुक्रबारसम्म केहि अपडेट आउने निर्देशक लुँइटेलले बताएका छन् ।

अर्थशास्त्री पोषराज पाण्डेले नेपालले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गरेको निर्णयलाई मान्नुपर्ने बताउँछन् । अन्र्तराष्ट्रिय समुदायको निर्णयबाट नेपाल छुट्टै रहन सक्दैन । यो निर्णयबाट भविष्यमा आउने लगानीकर्तालाई पनि अप्ठेरो परेको अवस्थामा अन्र्तराष्ट्रिय समुदायको नियम मान्न र सुरक्षात्मक अनुभुति पनि गर्ने सक्छन् । उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।

हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण बढ्न थालेपछि संयुक्त राष्ट्र संघले २०१८ फेव्रवरीमा उसमाथी थप कठोर नाकाबन्दी लगाउने निर्णय गरेको थियो । द्वितीय विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भएको हो । उत्तर कोरिया उत्तर तर्फ छ भने दक्षिण कोरिया दक्षिणमा छ । उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पुँजीवादी मुलुक हो । कोरियन युद्ध अन्तर्गत उत्तर कोरिया र दक्षिण कोरिया एक अर्कासँग भिडेका थिए । कोरियाको तीन अधिराज्यहरूको शताब्दीदेखिको लडाईंपश्चात सन् ६७६ मा कोरिया एउटै देशको रूपमा रहेको थियो ।


प्रकाशित | १५ कार्तिक २०७६, शुक्रबार ०९:४९