रेमिट्यान्स ४७ अर्बले घट्यो, मूल्य वृद्धि दोब्बर

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो महिनामा विप्रेषण आप्रवाह गत आर्थिक वर्षको दोस्रो महिनाको दाँजोमा ४७ करोडले घट्यो भने उपभोक्ता मूल्य स्फिर्ती दोब्बरले बढेर ६.१६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६ /०७७ को दोस्रो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ६.१६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ३.८६ प्रतिशत मात्र रहेको थियो । चालु आवको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सो अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७ दशमलव ९० प्रतिशत, तराइमा ५ दशमलव ६९ प्रतिशत, पहाडमा ५ दशमलव ०९ प्रतिशत र हिमालमा ५ दशमलव ०२ प्रतिशत महंगी बढेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड बचतमा

\चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर बचत ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोड घाटामा थियो । समीक्षा अवधिमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा विप्रेषण आप्रवाहमा गिरावट आएको छ । गत वर्षको भदौको तुलनामा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले घटेको हो । यस अवधिमा विदेशमा गएका नेपालीले १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ नेपाल पठाएका छन् । गत आर्थिक वर्षको भदौसम्म रेमिट्यान्स ३३.४ प्रतिशतले बढेको थियो ।

अघिल्लो दुई वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमी र मलेसिया रोजगारी बन्द हुँदाको प्रभाव रेमिट्यान्समा असर परेको हो । यस्तै विश्वव्यापी रुपमा आएको आर्थिक वृद्धिको संकुचन पनि रेमिट्यान्स घट्नुको कारण हुन सक्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको छ ।


प्रकाशित | १४ कार्तिक २०७६, बिहीबार ०९:०६