सांसद महेश बस्नेतद्वारा आफ्नो कमाईको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो सांसदलाई प्राप्त हुने सरकारी सेवा सुबिधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

मध्यपुर थिमी नगरपलिका वडा नंं. ८ खाँसी पोखरी परिसर उपभोक्ता समितीद्वारा आयोजित नेपाल सम्वत ११४०, दीपावली तथा छठ पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांसदलाई प्राप्त हुने सरकारी सेवा सुबिधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा व्यक्तिगत तर्फबाट समेत आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सोही क्रममा सांसद बस्नेतले आफ्नो कमाइको तर्फबाट खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गर्नुभयो । सामाजिक सेवा नै मानिसको सवैभन्दा ठूलो धर्म भएको बताउँदै उहाँले समाजमा हुने र आवश्यक पर्ने सहयोग गर्नु मानिसको परम धर्म भएको उल्लेख गर्नुभयो ।

क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने घोषणा गर्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुर विकास र समृद्धिबाट टाढा हुनै नसक्ने दावी गर्नुभयो । नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलय मध्ये कुनै एकको रुपमा विकास गर्ने योजना अनुरुप रु एक करोड ५० लाख रकम विनियाजन भएको जानकारी गराउँदै उहाँले सम्पदा वस्ती संरक्षण कार्यक्रम शुरु भएको जसको लागि १५ करोड रकम व्यवस्था भएको स्पष्ट पार्नुभयो ।

जनताले चासो दिएमा विकास निर्माणको लागि स्रोत तथा साधनको अभाव नहुने बताउँदै पूर्वउद्यागमन्त्री समेत रहनुभएका सांसद बस्नेतले घलाते, गठ्ठाघर र बोडेको गरी ठूला तीन वटा पुलहरु टेण्डरको प्रकृयामा रहेको जानकारी गराउनुभयो । पेप्सीकोला–सल्लाघारीको बैकल्पीक सडकको रुपमा पेप्सीकोला–बोडे–स्वरस्वतीखेल–छालिङ हुँदै नगरकोटसम्म जाने सडक निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले विगत लामो समयदेखी भिमसेन चोकबाट बोडे आउने सडक अलपत्रमा परेको र स्थानीय जनता तथा जनप्रतिनिधिको दवापका कारण धेरै ठाउँमा सम्पन्न हुने क्रममा रहेको, लोगो गार्मेन हुँदै कृषि तालिम केन्द्र– बोडेसम्म आउने सडक आगामी दुई तीन महिनाभित्रमा निर्माण सम्पन्न हुने, निकोसेरा–नागवेलीहुँदै खस्र्याखुर्सुङ खोलासम्म, बोडेदेखी टिकिनी जाने सडकलगायतका सडकहरु तिव्र गतिका साथ निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।

भक्तपुर जिल्ला कला र संस्कृतिको अनुपम जिल्लाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन सफल भएको बताउँदै पर्यटन क्षेत्रमा पुर्खाहरुले लगाईदिएको व्याज ९आर्थिक रुपमा० अहिलेको पुस्ताले सदुपयोग गरिरहेको उल्लेख गर्नुभयो । राम्रो काम गर्दा पाउने गाली आशिसमा परिवर्तन हुन्छ, जसले गाली गर्छ त्यो उसैसँग फर्कने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कसले के भन्यो भनेर डराउने हैन, मैले के गरे भनेर डराउने हो ।’

भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउन एक लाख रोपनीमा निर्माण गरिने स्मार्ट सिटीको डिपिआर सम्पन्न भईसकेको जानकारी गराउनुभयो । उहाँले मनोहरा कोरिडोर निर्माणको लागि करिव एक करोड रकम विनियोजित हुने अन्तिम तयारीमा रहेको समेत जानकारी गराउनुभयो ।


प्रकाशित | १४ कार्तिक २०७६, बिहीबार ०८:०९