भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा प्याजको मूल्य बढ्ने संकेत

काठमाडौ : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले प्याजको मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै ब्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याजमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्ने संकेत देखिएको छ। नेपालमा प्याज भारतबाटै आयात हुँदै आएकोमा अब नेपालले चीनबाट पनि प्याज आयत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो। भारतीय मिडियाहरुले सरकारको यो निर्णयले पछिल्लो समय भइरहेको प्याजको मूल्य बृद्धिमा कमी आउने बताएका छन् ।

पछिल्लो केही दिनमा भारतीय बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ८० भारुसम्म पुगेको थियो । भारतीय वाणिज्य मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई प्याजको कुनै पनि प्रकार विदेश निर्यात नगर्न निर्देशन दिएको हो ।

यस्तै भारत सरकारले प्याज बिक्री गर्नको लागि कोटा तोकेको छ । होलसेल व्यापारीको लागि बढीमा ५ सय क्विन्टल र खुद्रा व्यापारीका लागि एक सय क्विन्टल मात्रै स्टकमा राख्न पाइने व्यवस्था भारत सरकारले गरेको छ ।


प्रकाशित | १२ आश्विन २०७६, आईतवार १९:०३