मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई दिने तयारी, यो वर्ष पानी आउने सम्भावना न्यून

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी०मा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका एक अधिकारीले जानकारी दिए । सिनो हाइड्रोले स्टिमेटभन्दा ३५ प्रतिशत कममा प्रस्ताव हालेको पनि स्रोतले बतायो । ‘सिनो हाइड्रोको अनुभव र उसको प्रस्ताव हेर्दा ठेक्का उसैले पाउने निश्चित छ,’ समितिका एक सदस्यले भने, ‘अहिले एडिबीले मूल्यांकन गरिरहेको छ । एक साताभित्र टुंगो लाग्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनीकमा प्रकाशित छ ।

हेडबक्सको काम १५ महिनामा सक्ने गरी र सुरुङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी टेन्डर आह्वान गरिएको छ । हेडबक्सका लागि एक अर्ब २४ करोड र सुरुङ फिनिसिङका लागि ९५ करोड बजेट छुट्याइएको छ । गत जेठमा मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै समितिले आयोजनाका बाँकी काम अघि बढाउन टेन्डर आह्वान गरेको थियो ।

सिएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी रूपमा काम छोडेको थियो । २४ माघमा समितिले सिएसमीसँगको ठेक्का तोडेको थियो । मुख्य दुई प्याकेजको टेन्डर गरेको समितिले बाँकी आठ प्याकेजमा भने सिएमसीसँगै काम गरेका भेन्डर तथा कम्पनीलाई जिम्मा दिइने जनाएको छ ।


प्रकाशित | २१ श्रावण २०७६, मंगलवार ०९:४२