फेसबुकमा जिस्क्याउनेलाई ५ वर्ष जेल र १५ लाख जरिवाना हुने कानून पारित गर्ने तयारी

काठमाडौं : सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक सामाजिक सञ्जालमा बढ्दो मात्रामा देखिएको उच्छृंखल गतिविधि नियन्त्रण गर्न ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सभ्यताविपरीतका शब्द प्रयोग गरेकाले त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हो ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । समितिमा छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले विधेयकप्रति आपत्ति मान्न नपर्ने सांसदलाई बताएका छन् । उनले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधीन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान राखेको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ । सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदले यो प्रावधानसहित कानुन बनाउनुपर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद भने यो व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने शंका व्यक्त गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।


प्रकाशित | ७ असार २०७६, शनिबार ०७:५५